
काठमाडौं, १४ फाल्गुन। नेपाली कांग्रेसका सभापति गगन थापाले पाँच वर्ष अर्को प्रयोग नगर्न कर्णालीवासीसँग आग्रह गरेका छन् । बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कर्णालीको विकासको फेरिहिस्त आफूसँग रहेको दाबी गर्दै नयाँ प्रयोग नगर्न आग्रह गरेका हुन् ।
‘मेरो आग्रह छ, पाँच वर्ष अर्को प्रयोग नगरौँ । पाँच वर्ष परिवर्तनको वर्ष बनाउने हो,’ सभापति थापाले भने । तर त्यसका लागि सोच चाहिने उनले बताए । ‘कर्णालीका बारेमा बोल्दैगर्दा साथीहरू मुद्दा दिनुभएको छ । तर म पढेर भन्दिनँ,’ उनले भने । कर्णालीका बारेमा धेरै कुरा भन्न सकिने उनले बताए ।
‘कर्णाली स्वर्ग हो भन्न सकिन्छ, कर्णाली अन्नको भण्डार हो भन्न सकिन्छ । कर्णाली नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ । राराका बारेमा कविता भन्न सकिन्छ,’ सभापति थापाले भन,‘यहाँको स्याउँको कथा भन्न सकिन्छ, यहाँको यार्सागुम्बाको कथा भन्न सकिन्छ ।’ तर प्रश्न सँगै अर्को कुरा जोडिएर आउने यहाँको गरिबी रहेको उनले बताए ।
‘आज देशभरी जम्मा १७-१८ प्रतिशत गरिबी हुँदैगर्दा करिब ४० प्रतिशतको गरिबी बोकेर कर्णाली किन बसिरहेको छ ? सबैभन्दा ठुलो बेरोजगारी बोकेर कर्णाली किन बसिरहेको छ ? देशभरका आमा बचाउँदै गर्दा कर्णालीका आमा किन बचाउन सकिएका छैनन् ? यी प्रश्नका सपाट उत्तर दिएर भाग्न सकिन्छ । तर ती उत्तर दिएर समाधान निस्किन्न,’ उनले भने । त्यसका लागि समस्याको जरामा पुग्नुपर्ने उनले बताए ।
कर्णालीको विकास गर्ने कुरा नै महँगो रहेको पनि सभापति थापाले बताए । ‘कर्णाली र काठमाडौंको विकासको एउटै ढाँचा हेरेर हुँदैन । कर्णालीको वार्षिक आय प्रदेशको जम्मा ५२ करोड छ,’ उनले भने । काठमाडौं महानगरमा भने त्यहाँको मेयरलाई सुतिुसुति विकास गर्ने पैसा हुने उनले टिप्पणी गरे ।
‘काठमाडौंको मेयरका लागि सुतिसुति विकास गर्न त्यहाँको खुत्रुकेमा १० अर्ब रुपैयाँ आफै जम्मा हुन्छ,’ उनले भने, ‘किन जम्मा हुन्छ ? स्थानीय तहको आम्दानी सबैभन्दा बढी घरबहाल करबाटै आउँछ । अनि सुर्खेतको, कालिकोटको मान्छेले पनि काठमाडौंको खुत्रुकेमा घरभाडा जान्छ ।’
