गरुडामा कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / पत्रपत्रिका /
  • २०८२ फागुन १४, शुक्रबार (२ घण्टा अघि)
  • ६१ पटक पढिएको
गरुडामा कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पवन कुमार उपाध्याय

रौतहट, १५ फागुन। रौतहटको गरुडामा जिल्ला स्तरीय पत्रकार तथा सरोकारवालासँग एक दिने कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

गरुडा नगरपालिका कार्यालयको आर्थिक सहयोग तथा लेप्रोसी मिसन नेपालको आयोजनामा बिहीबार गरुडा स्थित सुमित्रा पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मी, कुष्ठरोग प्रभावित व्यक्ति, चर्चका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरू, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कुष्ठरोगको पहिचान, उपचार, रोकथाम तथा समाजमा विद्यमान भ्रम र कलंक अन्त्य गर्ने विषयमा छलफल गरिएको थियो।

आयोजकले समुदायस्तरमा सही सूचना प्रवाह गर्दै रोग लुकाउने प्रवृत्ति अन्त्य गर्न पत्रकार तथा सरोकारवालाहरूले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। सो अवसरमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म गरुडा नगरपालिकामा तीन जना कुष्ठरोगी बिरामी रहेको जानकारी दिइएको थियो।

लेप्रोसी मिसन नेपालका रौतहट फोकल अफिसर रोशन कुमार साहले जिल्लाका विभिन्न पालिकामा गरी दर्जनौं कुष्ठरोगी बिरामी रहेको र उनीहरूको समयमै पहिचान तथा उचित उपचार आवश्यक रहेको बताएका थिए। उनले कुष्ठरोग समयमै पत्ता लागे पूर्ण रूपमा निको हुने रोग भएकाले ढिलाइ नगरी स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार गराउन आग्रह गरे।

कार्यक्रममा विभिन्न स्थानबाट आएका धामीझाँक्री तथा चर्चका पास्टरहरूले समुदायमा कसैलाई कुष्ठरोग लागेको थाहा पाएमा झारफुक वा अन्धविश्वासतर्फ नलागी सिधै स्वास्थ्य संस्थामा पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

सहभागीहरूले समाजमा अझै पनि कुष्ठरोगप्रति डर, भ्रम र सामाजिक कलंक कायम रहेको उल्लेख गर्दै व्यापक सचेतना अभिवृद्धि अपरिहार्य रहेको बताएका थिए। कार्यक्रमको सञ्चालन लेप्रोसी मिसन नेपालका रौतहट फोकल अफिसर रोशन कुमार साहले गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस