
ओमप्रकाश यादव
फागुन २८ गते, रौतहट
रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरमा गत फागुन १९ गते दलित र यादव समुदायका युवाबीच भएको झडपको घटनामा प्रहरीले एक पक्षको मात्र मुद्दा दर्ता गरेर आफूहरूमाथि अन्याय गरेको पीडित पक्षले आरोप लगाएका छन्।
सन्तपुर निवासी सिकेन्द्र राय यादवले बिहीबार पत्रकार सम्मेलन गरी इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ विजयपुरले एक पक्षको मात्र मुद्दा दर्ता गरेको र आफूहरूको तर्फबाट दिइएको उजुरी दर्ता गर्न नमानेको आरोप लगाए।
उनका अनुसार केही दिनअघि सन्तपुरमा दलित र यादव समुदायका केही युवाबीच भएको झगडा कुटाकुटमा परिणत हुँदा दुवै पक्षका मानिस घाइते भएका थिए।
त्यसपछि दुवै समुदायका व्यक्तिहरूले आ–आफ्नो उपचार आफैं गराउने र आपसमा सद्भाव तथा एकता कायम राख्ने सहमति गरेका थिए।
तर गाउँकै विजय यादव नाम गरेका व्यक्तिले दलित समुदायका व्यक्तिहरूलाई उक्साएर आफूहरूविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गर्न लगाएको उनले आरोप लगाए।
दलित पक्षका पीडित भनिएका बिरजा राम चमारले उजुरी लिएर इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ विजयपुर पुगेका बेला प्रहरी निरीक्षक सुरेन्द्र यादवले घटनामा दुवै पक्षबाट मानिस घाइते भएको भन्दै एक पक्षको मात्र मुद्दा दर्ता गर्न नसकिने जवाफ दिएका थिए।
तर पछि घाइते भुवनेश्वर यादवका विपक्षी भनिएका विजय यादव लगायत दलित समुदायका केही नेताहरूले प्रहरी उपरीक्षक एसपी र प्रहरी नायब महानिरीक्षक डीआईजी समक्ष दबाब दिएपछि उनीहरूको निर्देशनमा इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ विजयपुरले आफूहरूको पक्षका ८ जनामाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको सिकेन्द्र यादवले बताए।
घटनामा आफ्नो पक्षबाट भुवनेश्वर यादवसहित चार जना घाइते भएको भन्दै आफूहरूको तर्फबाट पनि मुद्दा दर्ता हुनुपर्ने उनको भनाइ छ।
आफूहरूले दिएको उजुरी प्रहरी कार्यालयले दर्ता नगरी एक पक्षीय रूपमा मात्र मुद्दा दर्ता गरेर आफूहरूमाथि ठूलो अन्याय गरेको उनले दुखेसो व्यक्त गरे।
ज्यान मार्ने उद्योग अन्तर्गत आफूहरूको पनि मुद्दा दर्ता गर्न पटक–पटक ताकेता गर्दा समेत प्रहरीले मुद्दा दर्ता गर्न नमानेको उनले बताए।
प्रहरीले एक पक्षको मात्र मुद्दा दर्ता गरेर अन्याय गरेकाले बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए।
हाल दलित र यादव समुदायबीच कुनै किसिमको भेदभाव, मनमुटाव वा तनाव नरहेको बताउँदै सिकेन्द्र यादवले आफूहरूलाई न्याय दिलाउन प्रशासनसँग आग्रह गरे।
