खक्रौला बीओपीमा डीएसपीमाथि आक्रमण, एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ६, शुक्रबार (१ महिना अघि)
  • ८२ पटक पढिएको
खक्रौला बीओपीमा डीएसपीमाथि आक्रमण, एक जना पक्राउ

कैलाली, ०६ चैत। कैलालीको खक्रौलामा सशस्त्र प्रहरीको बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

डीएसपी पौडेलले दिएको जाहेरीका आधारमा टीकापुर नगरपालिका—९ बस्ने ४० वर्षीय रामबहादुर साउदलाई पक्राउ गरिएको हो ।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले इलाका प्रहरी कार्यालय टीकापुरले उनलाई पक्राउ गरेको जानकारी दिए । तिमिल्सिनाका अनुसार सशस्त्र प्रहरीका डीएसपी पौडेलले दिएको अपराधिक उपद्रव मुद्दामा साउदलाई पक्राउ गरिएको हो ।

साउदसँगै अन्य ५ जनाको नाममा समेत जाहेरी दिइएको छ । बीओपीभित्र प्रवेश गरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा टीकापुरकै नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का र भारतको लखिमपुरखिरी बस्ने रशिद आलिखानविरुद्ध समेत जाहेरी दिइएको छ । फरार रहेका उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीको बीओपी खक्रौलाले जिएसटी बिल र भारतीय भन्सार पास गरेको टीकापुरका व्यवसायीको सामान मंगलबार जफत गरेपछि विवाद भएको थियो । सोही विषयमा छलफल गर्न टीकापुर उद्योग वाणिज्य संघको टोली छलफलका लागि बीओपी खक्रौलामा पुगेका बेला बुधबार सशस्त्र प्रहरीमाथि एक समूहले आक्रमण गरेको थियो ।

बिल बिजक भेटिएपछि भने सशस्त्र प्रहरीले व्यवसायीले भारतबाट ल्याएको सामान उद्योग वाणिज्य संघ मार्फत सम्बन्धीत व्यवसायीलाई फिर्ता गरेको थियो । घटनाको छानविनका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनीले सशस्त्र प्रहरी उपरीक्षक(एसपी) अनिल कार्कीको संयोजकत्वमा समिति गठन गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस