
काठमाडौं, २५ भदौ। उच्च तहका सरकारी कर्मचारी नै हनी ट्र्यापममा परेको खुलेको छ । हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा एक महिला पुर्पक्षका लागि कारागार चलान भएकी छिन् ।
कारागार चलान हुनेमा रामेछाप घर भएकी ३२ वर्षीय कुसुम गुभाजु नाम गरेकी महिला हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले बुधबार उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतको आदेश अनुसार प्रहरीले उनलाई कारागार चलान गरेको छ ।
कुसम गुभाजुले एक सरकारी कर्मचारीलाई हनी ट्र्यापमा पारेर आपराधिक लाभ लिएको आरोप छ । पटकपटक रकम माग्दै नदिए फसाउने धम्की दिएपछि आजित भएर ती कर्मचारी जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पुगेका थिए ।
कर्मचारीको जाहेरीपछि प्रहरीले गुभाजुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । पीडित कर्मचारीले दिएको जाहेरीमा उल्लेख भएअनुसार सामाजिक सञ्जालबाट चिनजान भएकी गुभाजुसँग उनको निकटको सम्बन्ध बनेको थियो । भेटघाट गर्नेदेखि, घुमाघाम गर्ने, होटलमा रात बिताउनेसम्म भएको थियो ।
सामाजिक सञ्जालमा अन्तरंग कुराकानीसमेत उनीहरूबीच हुन्थ्यो । पछि यिनै कुराकानी र भेटघाट, घुमघाम गरेका तथा रात बिताएका तस्वीरहरू सार्वजनिक गरिदिने, घरपरिवारलाई पठाउने भन्दै रकम माग्न सुरु भएको उजुरीमा उल्लेख छ ।
सामाजिक सञ्जालबाट सुरु भएको भेट बालुवाटारको क्याफे हुँदै रात बिताउने अवस्थासम्म पुगेको थियो । महिलाले रकम माग्न थालेपछि उनीहरूबीचको सम्बन्धमा दरार आउन थालेको थियो ।
‘५० लाख नदिए सबै कुरा सार्वजनिक गरिदिने धम्की दिइयो, बाध्य भएर मैले २७ लाख दिएँ । त्यसपछि पनि रकम माग्ने क्रम रोकिएन,’ कर्मचारीले दिएको जाहेरीमा उल्लेख छ ।
निरन्तर धम्की आएपछि मानसिक रूपमा विक्षिप्त भएर २७ लाख रुपैयाँ आफूले दिएको ती कर्मचारीको दाबी छ । गुभाजुले पठाएको क्यूआरमा १५ जेठ २०८३ मा कनेक्ट आईपीएसमार्फत १० लाख, १९ जेठ २०८३ मा राष्ट्रिय वाणिज्य बैंकको २ थान चेकमार्फत ७ लाख ५० हजार र २ लाख ५० हजार गरी अर्को १० लाख दिएको दाबी कर्मचारीको छ ।
यो बाहेक नगद ७ लाख रुपैयाँ पनि दिएको ती कर्मचारीको भनाइ छ । यसरी धम्की दिएर पटकपटक गरी २७ लाख असुल्दा पनि पुन: धम्की दिएर रकम माग्ने क्रममा नरोकिएकाले बाध्य भएर प्रहरीमा जानु परेको उनको भनाइ छ । त्यसपछि उनले प्रहरीमा आपराधिक लाभ र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उजुरी दिएका थिए ।
ती कर्मचारीको उजुरीपछि २७ साउनमा प्रहरीले गुभाजुलाई पक्राउ गरेको थियो । पुर्पक्षका लागि कारागारमा रहेकी गुभाजुले भने यी सबै आरोपको खण्डन गरेकी छिन् । ती कर्मचारी आफैंले फेसबुकमा फ्रेन्ड रिस्क्वेस्ट पठाएको, आफैंले प्रेम प्रस्ताव रोखेको, श्रीमतीकै रूपमा आफूलाई कोठा खोजेर राखेकोसमेत दाबी गर्दै बयान दिएकी थिइन् ।
२० लाख रुपैयाँ आफूखुसी नै ती सरकारी कर्मचारीले दिएको र ७ लाख रुपैयाँ भने कोठा खर्च र खान बस्नमा भएको खर्चको दिइएको दाबी उनको छ । आरोपित महिलाको दाबीअनुसार उनीहरू दुई जना बसुन्धरामा कोठा लिएर एक वर्षसम्म सँगै बसेका थिए ।
गुभाजु पक्राउ पर्नुअघि उनीहरूबीच ७ जेठमा पनि विवाद भएपछि यो केस प्रहरीसम्म पुगेको खुलेको छ । त्यतिबेला प्रहरी वृत्त कालिमाटीमा उनीहरूबीच मिलापत्र भएको देखिन्छ । त्यतिबेला दुवैले एक अर्कालाई कुनै विषयमा दखल नपुर्याउने भन्दै आफन्तको जिम्मा लगाइएको थियो । यसपछि भने ती सरकारी कर्मचारीले गुभाजुलाई रकम दिएको देखिँदैन ।
गुभाजुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २५३ को आपराधिक लाभ लिन नहुने कसुर र विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्न नहुने कसुर गरी दुई वटा कसुरमा मुद्दा चलाइएको छ ।
आपराधिक लाभमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना र विद्युतीय कारोबार ऐन दफा ४७ को कसुरमा एक लाखसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
