किर्ते कागजात प्रयोग गरी प्रतिबन्धित छोकडा आयात प्रयास, व्यवसायी पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १८, शुक्रबार (२ घण्टा अघि)
  • ५५ पटक पढिएको
किर्ते कागजात प्रयोग गरी प्रतिबन्धित छोकडा आयात प्रयास, व्यवसायी पक्राउ

वीरगञ्ज, १८ वैशाख। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी विभागको नक्कली लेटरहेड, छाप र पूर्व महानिर्देशकको हस्ताक्षर किर्ते गरी प्रतिबन्धित छोकडा आयात गर्न खोज्ने एक व्यवसायीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको कालिकास्थानस्थित सिमभिन इन्टरनेसनल इम्पेक्सका सञ्चालक ५५ वर्षीय नवीन कुमार अग्रवाल रहेका छन् । उनलाई बिहीबार वीरगञ्ज महानगरपालिका–११ आदर्शनगरबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रहरीका अनुसार, नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ बमोजिम वि.सं. २०७६ चैत २४ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी छोकडा (खजुर) को आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध अहिलेसम्म कायम छ ।

तर व्यवसायी अग्रवालले उक्त प्रतिबन्धलाई छल्ने उद्देश्यले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौँको नक्कली लेटरहेड, छाप र विभागका पूर्व महानिर्देशकको नाम तथा हस्ताक्षर प्रयोग गरी १०० टन छोकडा आयात गर्न अनुमति दिने किर्ते पत्र तयार पारेका थिए । सो किर्ते अनुमति पत्र वीरगञ्ज भन्सार कार्यालयमा पेस गरेर सामान भित्र्याउन खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भन्सार कार्यालयमा सामान आइपुगेपछि अधिकारीहरूलाई उक्त अनुमति पत्रमा शङ्का लागेको थियो । भन्सारले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पत्रको यथार्थता बुझ्दा उक्त पत्र पूर्ण रूपमा किर्ते भएको पुष्टि भएको थियो । त्यसपछि भन्सारले १०० टन छोकडा जफत गरी थप अनुसन्धानका लागि सीआईबीलाई जानकारी गराएको थियो ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले दिएको जानकारी अनुसार, अग्रवालमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ अन्तर्गत लिखत सम्बन्धी कसुर मा अनुसन्धान भइरहेको छ । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई उनलाई नियन्त्रणमा लिइएको हो ।

अग्रवाल काठमाडौँ महानगरपालिका–६ मा बसोबास गर्दै आएका थिए भने हाल केही समययता वीरगञ्ज–६, रेशमकोठीमा बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको हुन सक्ने आशङ्का गरेको छ र त्यसतर्फ पनि अनुसन्धान जारी रहेको जनाएको छ । अग्रवाललाई काठमाडौँ लगेर थप कानुनी कारबाही अगाडि बढाइने सीआईबीले बताएको छ ।

सरकारी प्रतिबन्धको बाबजुद किर्ते कागजात तयार पारेर प्रतिबन्धित वस्तु आयात गर्न खोज्ने कार्य गम्भीर प्रकृतिको अपराध भएको भन्दै प्रहरीले यस प्रकारका गतिविधिले राष्ट्रिय अर्थतन्त्र र कानुनी व्यवस्थालाई चुनौती दिने बताएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस