गरुडाका डीएसपी आचार्यको मिलेमतोमा व्यापक तस्करी हुँदै, डीएसपीको संरक्षणमा तस्करको रजगज

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १९, शनिबार (१ घण्टा अघि)
  • १५८ पटक पढिएको
गरुडाका डीएसपी आचार्यको मिलेमतोमा व्यापक तस्करी  हुँदै, डीएसपीको संरक्षणमा तस्करको रजगज

रौतहट, १९ वैशाख। रौतहटको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले तस्कर समूहसँग आर्थिक लेनदेन गरी भारतबाट व्यापक तस्करी गराइरहेको पाइएको छ ।

तस्करसंग मासिक रकम बुझेर डीएसपी आचार्यले गरुडा आसपासका क्षेत्रमा अवैध तस्करी कार्यलाई बढाबा दिएको गम्भीर आरोप सार्वजनिक भएको छ। सीमावर्ती नाकाबाट भित्रिने कपडा, हार्डवेयर, किराना लगायतका विभिन्न मालसामानको तस्करीमा प्रहरी नेतृत्वकै मिलेमतो रहेको स्थानीय स्रोतहरूले दाबी गरेका छन्।

स्थानीय स्रोतका अनुसार भारतसँग जोडिएका रौतहटका विभिन्न नाकाबाट भित्रिने अवैध सामानहरू गाउँ–गाउँको भित्री बाटो प्रयोग गर्दै गरुडा बजारसम्म पुर्‍याइने गरिएको छ। यसरी हुने तस्करीको मुख्य नेटवर्क सञ्चालनमा केही चर्चित तस्करहरू सक्रिय रहेको र उनीहरूले इलाका प्रहरी कार्यालय गरुडासँग कथित सेटिङ मिलाएर निर्बाध रूपमा कारोबार चलाइरहेको आरोप छ।

विशेषगरी गरुडा नगरपालिका क्षेत्रमा सक्रिय भनिएका तस्कर तबारक मियाँ,अमरजित साह लगायतका तस्करहरूले गरुडा प्रहरी नेतृत्वलाई नियमित रकम बुझाएर कपडा, हार्डवेयर, किराना सामग्री जस्ता सामान भारतबाट अवैध रूपमा भित्र्याउने गरेको स्रोतहरूको दाबी छ।

तस्करीमा संलग्न व्यक्तिहरूबाट प्रहरीले मासिक रूपमा ‘मोटो रकम’ बुझेर लाइन क्लियर गरिने तथा चेकजाँचमा सहजता प्रदान गरिने आरोपसमेत उठेको छ। केही दिनअघि महम्मदपुर क्षेत्रमा मोटरसाइकलमार्फत तस्करीको सामान ओसारपसार भइरहेको भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि गरुडा क्षेत्रको तस्करी नेटवर्क थप चर्चामा आएको हो।

भिडियो सार्वजनिक भएसँगै सीमाक्षेत्रमा प्रहरीकै संरक्षणमा तस्करी भइरहेको भन्ने स्थानीय आरोप झन् चर्किएको छ।
स्थानीयवासीका अनुसार डीएसपी आचार्य गरुडा आएयता सीमा क्षेत्रबाट हुने अवैध कारोबार बढेको मात्र होइन, प्रहरी कार्यालयभित्र बिचौलियाहरूको सक्रियता, दलाली र आर्थिक चलखेलसमेत बढेको चर्चा छ।

कतिपयले तस्करी नियन्त्रण गर्नुको सट्टा अवैध कारोबारीसँग आर्थिक लाभ लिएर सहज वातावरण बनाइएको आरोप लगाएका छन्। स्थानीय व्यापारीहरू भन्छन् , वैधानिक रूपमा भन्सार, कर तथा राजस्व तिरेर व्यापार गर्ने व्यवसायीहरूलाई अवैध तस्करीले ठूलो क्षति पुर्‍याइरहेको छ। सीमाबाट चोरी पैठारी भएर आउने सस्ता सामानले बजार कब्जा गर्दा कानुनी व्यवसायीहरू आर्थिक संकटमा पर्दै गएका छन्।

सुरक्षा निकायको जिम्मेवारी सीमाक्षेत्रमा कानुन कार्यान्वयन र तस्करी नियन्त्रण गर्नु भए पनि गरुडामा भने प्रहरी नेतृत्वकै भूमिकामाथि प्रश्न उठ्न थालेपछि समग्र सुरक्षा संयन्त्रमाथि नै अविश्वास बढ्न सक्ने स्थानीयहरूको चिन्ता छ।यद्यपि डीएसपी आचार्य वा सम्बन्धित प्रहरी निकायबाट सार्वजनिक रूपमा यी आरोपबारे स्पष्ट प्रतिक्रिया आएको छैन। तर स्थानीय स्तरमा उठिरहेका गम्भीर आरोपका कारण निष्पक्ष छानबिन, आर्थिक लेनदेनको सत्यतथ्य अनुसन्धान र दोषी देखिए कडा कारबाहीको माग बढ्दै गएको छ।

सीमावर्ती जिल्लामा हुने तस्करी केवल अवैध व्यापारको विषय मात्र नभई राज्यको राजस्व, सुरक्षा व्यवस्था र सुशासनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सम्बन्धित निकायले गरुडा क्षेत्रमा भइरहेको भनिएको प्रहरी तस्कर गठजोडबारे गम्भीर अनुसन्धान गर्नुपर्ने देखिन्छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस