मधेसमा लागुऔषधविरुद्ध महाअभियान सुरु, पुनर्स्थापनामा पनि जोड

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (३ हप्ता अघि)
  • ६९ पटक पढिएको
मधेसमा लागुऔषधविरुद्ध महाअभियान सुरु, पुनर्स्थापनामा पनि जोड

वीरगञ्ज, २१ वैशाख। मधेस प्रदेशमा पछिल्ला वर्षहरूमा गम्भीर सामाजिक समस्याका रूपमा देखिँदै आएको लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि प्रदेश प्रहरीले विशेष अभियान सुरु गरेको छ । भारतसँगको खुला सीमाका कारण लागुऔषध भित्रिने क्रम बढ्दै गएपछि यसको असर विशेषगरी युवापुस्तामा देखिन थालेको भन्दै प्रहरी प्रशासनले ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३’ सञ्चालनमा ल्याएको हो ।

प्रदेश प्रहरीका सूचना अधिकारी कमल थापाका अनुसार अभियानको उद्देश्य लागुऔषध सेवनकर्तालाई पक्राउ गर्नु मात्र नभई उनीहरूको पहिचान गरी सुधार केन्द्रसम्म पुर्‍याउने र समाजमा पुनःस्थापित गर्ने रहेको छ । उनका अनुसार लागुऔषध समस्या कानुनी मात्र नभई सामाजिक र मानसिक चुनौतीका रूपमा विस्तार हुँदै गएको छ ।

प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले अभियानलाई प्रभावकारी बनाउन आठै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । उनले परम्परागत नियन्त्रण शैलीले मात्र समस्या समाधान नहुने भन्दै पहिचान, निगरानी, नियन्त्रण र सुधारलाई एकसाथ अघि बढाइने बताए । “लागुऔषध सेवनकर्तालाई सुधार गरी समाजमा फर्काउनु हाम्रो मुख्य लक्ष्य हो,” उनले भने ।

महोत्तरी, धनुषा, सर्लाही, सिराहा र पर्सा लगायत सीमावर्ती जिल्लामा लागुऔषधको समस्या बढी देखिएको प्रहरीको निष्कर्ष छ । भारतसँगको खुला सीमा र अनधिकृत नाकामार्फत लागुऔषध भित्रिने क्रम जारी रहेको बताइएको छ ।

महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार विद्यालय र कलेज उमेरका किशोरकिशोरीहरू बढी प्रभावित भएका छन् । सीमामा ड्रग टेस्टिङ चेकपोइन्ट स्थापना गर्ने तयारी भइरहेको र शंकास्पद व्यक्तिको परीक्षण गर्ने योजना रहेको उनले बताए ।

धनुषाका प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले भारतीय सुरक्षा निकायसँग सूचना आदानप्रदान र संयुक्त निगरानी बढाइएको जानकारी दिए । सीमापार तस्करी नियन्त्रणका लागि सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।

तर स्थानीय तहका अनुसार सरकारी प्रयास मात्र पर्याप्त छैन । पिपरा गाउँपालिकाका रुदल झा र धनुषाकी भुली देवीले सुधार केन्द्रको खर्च र पहुँच अभावका कारण परिवार थप संकटमा परेको गुनासो गरेका छन् । उनीहरूले निःशुल्क उपचार र पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

स्थानीय तहले विद्यालयस्तरमै सचेतना कार्यक्रम सुरु गरेका छन् भने युवाहरूलाई लक्षित गरी लागुऔषधको असरबारे जानकारी दिने अभियान पनि चलाइएको छ ।

मनोविज्ञ डा. रोबिन कुमार झाका अनुसार यो समस्या समाधानका लागि प्रहरी, स्थानीय तह, परिवार र मानसिक स्वास्थ्य सेवाबीच समन्वय आवश्यक छ । केवल प्रहरी कारबाहीले मात्र दीर्घकालीन समाधान सम्भव नहुने उनको भनाइ छ ।

यसैबीच मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले लागुऔषध नियन्त्रणका लागि सीमामा कडाइ, सचेतना कार्यक्रम र सुधार केन्द्र विस्तार गर्ने योजना अघि सारिएको बताए । उनले दुर्व्यसनमा फसेका युवालाई संरक्षण र पुनःस्थापनामा प्रदेश सरकार सक्रिय रहने प्रतिबद्धता जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस