तीन वर्षदेखि मनोचिकित्सकविहीन नारायणी अस्पताल, बिरामी निजी उपचारतर्फ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २२, मंगलबार (२ घण्टा अघि)
  • ४४ पटक पढिएको
तीन वर्षदेखि मनोचिकित्सकविहीन नारायणी अस्पताल, बिरामी निजी उपचारतर्फ

काठमाडौं, २२ वैशाख। वीरगञ्जस्थित नारायणी अस्पतालमा विगत तीन वर्षदेखि मनोचिकित्सक अभाव हुँदा सेवाग्राहीहरू गम्भीर समस्यामा परेका छन् ।

केन्द्रीय अस्पतालको मान्यता प्राप्त यस अस्पतालमा दैनिक २५ देखि ३० जनासम्म मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामी परामर्शका लागि आउने गरे पनि आवश्यक सेवा दिन नसकिएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकृत डा. उदयनारायण सिंहका अनुसार यसअघि करारमा आएका एक जना मनोचिकित्सकले एक वर्ष सेवा दिएपछि फर्किएपछि पदपूर्ति हुन सकेको छैन । “तीन वर्षदेखि मनोचिकित्सकविहीन अवस्थामा अस्पताल सञ्चालन भइरहेको छ,” उनले भने ।

मनोचिकित्सकले मानसिक रोग, लागूऔषध दुरुपयोग, एचआइभी/एड्सलगायत समस्याबाट पीडित बिरामीलाई परामर्श तथा उपचार सेवा प्रदान गर्दै आएका थिए ।

हाल चिकित्सक अभावका कारण बिरामीहरूलाई अन्य अस्पतालमा जानुपर्ने बाध्यता छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल रेफर गरिँदै आएको भए पनि यसले बिरामीलाई थप आर्थिक तथा समयको भार पर्ने गरेको गुनासो बढ्दो छ ।

उता विराटनगर र भरतपुरका केन्द्रीय अस्पतालहरूमा चारभन्दा बढी मनोचिकित्सक कार्यरत भए पनि सोही स्तरको नारायणी अस्पतालमा एक जना पनि मनोचिकित्सक नहुनु विडम्बनापूर्ण रहेको सरोकारवालाहरू बताउँछन् ।

विशेषगरी तराई क्षेत्रमा मानसिक रोगका बिरामीको सङ्ख्या बढी भए पनि आवश्यक सेवा नपाउँदा अवस्था झन् जटिल बन्दै गएको छ ।

यसैबिच, अस्पतालमा डायलिसिस सेवा सञ्चालनमा रहे पनि नेफ्रोलोजिस्ट चिकित्सकको अभाव देखिएको छ । सूचना अधिकारी डा. सिंहका अनुसार करारमा कार्यरत एक जना नेफ्रोलोजिस्ट छ महिनाअघि सेवा अवधि सकिएपछि फर्किएका थिए र त्यसपछि पद खाली रहेको छ । हाल डायलिसिस सेवा फिजिसियनहरूको सहायतामा सञ्चालन भइरहेको छ ।

अस्पतालमा १५ वटा डायलिसिस मेसिन रहेका छन् र दैनिक करिब १०० जना बिरामीले सेवा लिइरहेका छन् । यद्यपि विशेषज्ञ चिकित्सकको अभावले सेवा प्रभावकारितामा कमी आएको बताइएको छ । अस्पताल प्रशासनले मनोचिकित्सक र नेफ्रोलोजिस्ट पदपूर्तिका लागि सम्बन्धित मन्त्रालय र विभागमा पटक–पटक पत्राचार गर्दै आएको भए पनि हालसम्म ठोस पहल नभएको गुनासो गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस