जनमतको समर्थन फिर्तापछि मधेसमा सत्ता परिवर्तनको खेल सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २२, मंगलबार (१ घण्टा अघि)
  • ४९ पटक पढिएको
जनमतको समर्थन फिर्तापछि मधेसमा सत्ता परिवर्तनको खेल सुरु

वीरगञ्ज, २२ वैशाख। जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता सम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।

प्रदेश प्रमुख कार्यालयका सचिव नारायण प्रसाद दाहालका अनुसार पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहको हस्ताक्षरसहितको पत्र प्राप्त भएको हो । पत्र ढिलो गरी प्राप्त भएकाले औपचारिक विज्ञप्ति पछि सार्वजनिक गरिने उनले बताए ।

मधेस प्रदेशसभामा जनमत पार्टीका १२ जना सांसद छन् । हाल उक्त पार्टीले अर्थ मन्त्रालयसहित दुई मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी छ । जनमतबाट महेश यादव अर्थमन्त्री र वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण मन्त्री छन् ।

जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहले समर्थन फिर्ता लिएको पुष्टि गरेका छन् । तर संसदीय दलका नेता तथा अर्थमन्त्री महेश यादवले भने यस विषयमा आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन् ।

केही सातादेखि नै जनमतले समर्थन फिर्ता लिने चर्चा चलेको थियो । मुख्यमन्त्री कृष्णप्रसाद यादवले भने सरकार परिवर्तन नहुने दाबी गर्दै आएका थिए ।

यसअघि जनमत पार्टीले आफ्नै नेतृत्वको सरकार पनि ढालेको थियो । जेन–जी आन्दोलनका क्रममा फेसबुकमा पार्टी निर्देशनअनुसार राजीनामा घोषणा गरेका तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले पछि राजीनामा नदिएपछि जनमतले आफ्नै सरकार ढालेर नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहयोग गरेको थियो ।

यसैबिच, नेपाली काँग्रेसबाहेकका अन्य दलहरूबिच नयाँ सरकार गठनका लागि प्रारम्भिक सहमति भएको स्रोतले जनाएको छ ।

जनमत पार्टीको समर्थन फिर्ताले मधेस प्रदेशको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ । प्रदेश प्रमुखले संवैधानिक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस