परवानीपुरमा ट्र्याक्टर दुर्घटना, एक युवकको मृत्यु शंकास्पद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २२, मंगलबार (२ घण्टा अघि)
  • ५८ पटक पढिएको
परवानीपुरमा ट्र्याक्टर दुर्घटना, एक युवकको मृत्यु शंकास्पद

वीरगञ्ज, २२ वैशाख। बाराको परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा ट्र्याक्टरले च्याप्दा करिब ३५ वर्षीय एक अज्ञात युवकको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार राति स्थानीय रामबाबु रौनियारको खाली जग्गामा माटो खसाल्ने क्रममा प्लास्टिक सङ्कलन गरिरहेका उक्त युवक ट्र्याक्टरको चपेटामा परेका थिए । प्रहरीका अनुसार युवकको शव घटनास्थलबाट केही अगाडि सारिएको अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले प्रारम्भिक अनुसन्धानमा युवक ट्र्याक्टरले च्यापिएको देखिएको बताए । तर, शवको अवस्था र स्थानले शङ्का उत्पन्न गरेको उनको भनाइ छ ।

प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सिसिटिभी फुटेज अध्ययन गर्दै गहन अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको पहिचान अझै खुल्न सकेको छैन । पहिचानका लागि प्रहरीले प्रयास जारी राखेको छ ।

मृतक प्लास्टिक सङ्कलन गरेर गुजारा चलाउने गरेको प्रारम्भिक जानकारी छ । घटनाप्रति स्थानीयवासीले पनि चासो व्यक्त गरेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस