वीरगञ्जमा ट्राफिक व्यवस्था कडा, बसपार्क बाहिरका टिकट काउन्टर हटाइने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २५, शुक्रबार (१ घण्टा अघि)
  • ४४ पटक पढिएको
वीरगञ्जमा ट्राफिक व्यवस्था कडा, बसपार्क बाहिरका टिकट काउन्टर हटाइने

वीरगञ्ज, २५ बैशाख। पर्सा जिल्लामा सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले सवारी आवगमन, यात्रु सुरक्षा, बसपार्क व्यवस्थापन तथा सार्वजनिक यातायात सुधार सम्बन्धी कडा निर्णयहरू गरेको हो ।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रअनुसार विपद् जोखिमको दृष्टिले संवेदनशील सडक मार्गहरूको पहिचान गरी आवश्यक सुरक्षा व्यवस्थापन गर्ने निर्णय गरेको छ । जोखिमपूर्ण अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले मौसम पूर्वानुमान, पूर्वसूचना तथा सडकको अवस्थाको विश्लेषण गरी आवश्यक परे संवेदनशील सडकमा सवारी आवगमन पूर्ण रूपमा बन्द गराउने निर्णय गरिएको छ ।

त्यस्तै, विपद्‌का बेला सडक अवरुद्ध हुँदा अलपत्र पर्ने यात्रुहरूको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले पूर्वतयारी योजना बनाएर कार्यान्वयन गर्नेछ । निर्देशनको अवज्ञा गर्ने सवारी चालक तथा सवारीधनीलाई कानुनअनुसार कडा कारबाही गरिने पनि निर्णयमा उल्लेख छ ।

सार्वजनिक यातायातमा CCTV अनिवार्य

नेपाल सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूची अन्तर्गत सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथामका लागि जिल्लास्थित सबै यातायात व्यवसायीले आफ्ना सवारी साधनमा १५ दिनभित्र CCTV वा Dashcam जडान गर्नुपर्ने भएको छ ।

सुरक्षा निकायले माग गरेमा सम्बन्धित फुटेज उपलब्ध गराउनुपर्नेछ । साथै राइड-शेयरिङ एपहरूमा SOS Button अनिवार्य गर्न जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक समन्वय गर्ने र प्रगति विवरण मासिक रूपमा जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ ।

बसपार्क बाहिरका टिकट काउन्टर हटाइने

बैठकले वीरगञ्जबाट छुट्ने तथा भित्रिने लामो तथा छोटो दूरीका सबै सार्वजनिक सवारी साधनहरू अनिवार्य रूपमा नयाँ बसपार्क (टर्मिनल भवन) बाट सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ ।

यसका लागि बसपार्क बाहिर सञ्चालनमा रहेका अवैध टिकट काउन्टर हटाउन वीरगञ्ज महानगरपालिका, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीले संयुक्त रूपमा आवश्यक व्यवस्था मिलाउनेछन् ।

लामो दूरीका सवारी साधनहरूले बाइपास सडक, घण्टाघर, पावरहाउस लगायतका मुख्य सडक किनारमा यात्रु चढाउने वा ओराल्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ । उल्लंघन गर्ने सवारीधनी तथा चालकलाई ट्राफिक प्रहरीले कानुनबमोजिम कारबाही गर्नेछ ।

‘यात्रु सहायता कक्ष’ २४ सै घण्टा सञ्चालन हुने

यात्रु ठगी तथा बढी भाडा असुली नियन्त्रण गर्न बसपार्क परिसरमा रहेको ‘यात्रु सहायता कक्ष’ लाई २४ सै घण्टा सञ्चालनमा ल्याइने निर्णय गरिएको छ ।

बसपार्क क्षेत्रमा हुने अनावश्यक भिडभाड, गुण्डागर्दी तथा यात्रुको झोला तान्ने जस्ता अभद्र गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गरिनेछ ।

त्यस्तै, बसपार्क क्षेत्र वरपर सञ्चालनमा रहेका ट्राभल्स एजेन्सीहरूको अनुगमन गरी कानुनविपरीत सञ्चालन भएका एजेन्सीमाथि कडा कारबाही गरिने निर्णय पनि बैठकले गरेको छ ।

भन्सार प्रवेश बिन्दुभन्दा अगाडि EV र हायस सञ्चालनमा रोक

लामो दूरीका EV, टाटा सुमो, हायस लगायतका सवारी साधनहरूलाई भन्सार प्रवेश बिन्दुभन्दा अगाडि प्रवेश गर्न रोक लगाइने निर्णय गरिएको छ ।

यातायात कम्पनीहरूले CCTV गतिविधि तथा प्राकृतिक प्रकोप सम्बन्धी सूचना आदानप्रदानका लागि फोकल पर्सन तोकी जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गर्नुपर्नेछ ।

यस्तै, बसपार्कबाट छुट्ने दिवा सेवाका सवारी साधनहरू दिउँसो २ बजेभित्र काउन्टरबाट प्रस्थान गरिसक्नुपर्ने व्यवस्था मिलाइने भएको छ ।

बैठकले वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, यातायात व्यवस्था कार्यालय पर्सा तथा यातायात व्यवसायीहरूको प्रतिनिधिसहितको टोली गठन गरी बसपार्क व्यवस्थापन तथा यातायात सेवाको सुधारका लागि सात दिनभित्र विस्तृत योजना पेश गर्ने निर्णय समेत गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस