पर्सा राष्ट्रिय निकुञ्जमा ‘वाइल्ड लाइफ रेस्क्यु टिम’ गठन, उद्धार कार्य तीव्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (२ हप्ता अघि)
  • ८३ पटक पढिएको
पर्सा राष्ट्रिय निकुञ्जमा ‘वाइल्ड लाइफ रेस्क्यु टिम’ गठन, उद्धार कार्य तीव्र

पर्सा, २७ वैशाख। पर्सा राष्ट्रिय निकुञ्ज ले वन्यजन्तुको उद्धार तथा उपचारलाई प्रभावकारी बनाउन ‘वाइल्ड लाइफ रेस्क्यु टिम’ गठन गरी परिचालनमा ल्याएको छ ।

साताअघि बाराको निजगढ बजार क्षेत्रमा राजमार्गमा घाइते अवस्थामा फेला परेको एक बाँदरको उद्धारपछि टोलीले आफ्नो प्रभावकारिता देखाएको हो । सूचना प्राप्त हुनासाथ पर्सा राष्ट्रिय निकुञ्जको आधाभार कार्यालयस्थित उद्धार टोली घटनास्थलमा पुगेको थियो । उपचारपछि उक्त बाँदरलाई पुनः प्राकृतिक बासस्थानमै छोडिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

वन्यजन्तु सप्ताहको अवसर पारेर वैशाख पहिलो सातादेखि निकुञ्ज प्रशासनले यो उद्धार टोली स्थापना गरेको हो । यसअघि वन्यजन्तुको उद्धार तथा उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष को प्राविधिक टोलीमा निर्भर रहनुपर्ने अवस्था रहेको थियो ।

निकुञ्जका संरक्षण तथा सूचना अधिकृत सन्तोषकुमार भगत का अनुसार उद्धार टोलीमा पशु चिकित्सक, प्राविधिक, सवारी चालक तथा आवश्यकता अनुसार अन्य कर्मचारीसमेत परिचालन गरिन्छ । सूचना प्राप्त हुनासाथ टोली पर्सा, बारा, मकवानपुर र रौतहटसम्म पुग्ने गरेको उनले बताए ।

निकुञ्ज प्रशासनका अनुसार चालु आर्थिक वर्षको चैतसम्ममा १ पाटेबाघ, ६ चित्तल, १ सयभन्दा बढी गोमनसहितका सर्प, २५ किंग कोब्रा, १५ अजिंगर, १ सालक तथा निलगाईसहित अन्य ३ वन्यजन्तुको उद्धार तथा उपचार गरी प्राकृतिक बासस्थानमा फर्काइएको छ ।

निकुञ्जभित्र महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ पर्ने तथा ती सडकमा सवारी चाप अत्यधिक हुने भएकाले वन्यजन्तु दुर्घटनामा पर्ने क्रम पनि बढ्दो रहेको निकुञ्जले जनाएको छ । चालु आर्थिक वर्षमा हालसम्म सवारी साधनको ठक्कर तथा अन्य कारणले १ चितुवा, २ जरायो, ५ चित्तल, १५ बाँदर र अन्य ३ वन्यजन्तुको मृत्यु भएको भगतले जानकारी दिए ।

यस्ता घटना न्यूनीकरण गर्न वन्यजन्तु सप्ताहका क्रममा सवारी चालक, सहचालक तथा ट्राफिक प्रहरीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस