
वीरगञ्ज, २७ वैशाख। मधेश प्रदेश प्रहरी कार्यालय द्वारा सञ्चालन गरिएको “लागु औषध प्रयोगकर्ता खोजि एवं सुधार अभियान २०८३” अन्तर्गत वीरगञ्जमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको छ ।
अभियानअन्तर्गत शुक्रबार वीरगञ्ज महानगरपालिका–१६ ईनर्वा स्थित शंकराचार्य गेट नजिक स्वास्थ्यकर्मी तथा लागूऔषध परीक्षण किटसहितको चेकपोष्ट स्थापना गरी चेकजाँच गरिएको थियो ।
उक्त चेकजाँचका क्रममा लागूऔषध सेवन गरी सार्वजनिक स्थलमा हिँडिरहेका ८ जना पुरुषलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बिर्ता का प्रमुख प्रहरी निरीक्षक बिक्रम सुबेदी ले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि स्वास्थ्य परीक्षण तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । लागूऔषध दुव्र्यसन नियन्त्रण, प्रयोगकर्ताको पहिचान तथा सुधारमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अभिभावक, स्थानीयवासी तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै लागूऔषध विरुद्धको अभियानलाई अझ प्रभावकारी बनाइने जनाएको छ ।
