सप्तरी, ०२ जेठ। प्रहरी नेतृत्वमाथि जनअसन्तुष्टि उत्कर्ष चुलिएको अवस्थामा सप्तरीका प्रहरी प्रमुख र प्रबक्ताको एकैसाथ सरुवा भएको छ । एसपी गौतम कुमार केसी र डिएसपी डम्बरबहादुर पुरीको सरुवा भएको हो ।
उनीहरुको सरुवा भएसंगै सप्तरीको प्रहरी प्रमुखको रुपमा एसपी नवराज मल्ल र डिएसपी हेमराज घिमिरे आउने भएका छन् ।
पछिल्लो समय सप्तरीका प्रहरी नेतृत्वमाथि चरम असन्तोष बढेको बेला एसपी र डिएसपी दुबैको एकसाथ सरुवाले उनीहरुको कार्यसम्पादनमा गम्भीर प्रश्न उब्जिएको छ ।
हालै मात्र न्यूज टुडे दैनिकले प्रहरीले मुद्दा दर्ता गर्न नमानेको एक पीडितको गुनासोसहितको समाचार प्रकाशित गरेको थियो । बर्तमान प्रहरी नेतृत्वले सर्वसाधारण सेवाग्राही प्रति सेवा प्रवाहमा देखाएको उदानसीताको चित्रसहित समाचार प्रकाशित भएको थियो ।
भुइमान्छेको गुनासो सुनुवाइ नहुने तर पहुँचवालाको प्रभावमा परी पीडितको समस्यालाई नजरअन्दाज गर्ने प्रवृत्तिको विकासले प्रहरी संगठनको मर्यादाको धज्जी उठाएको समाचारको भावले सेवाग्राहीप्रति प्रहरीको चासो अभाव प्रष्ट देखिएको थियो ।
प्रहरीले सेवा प्रवाहलाई जनमुखी बनाउन नसक्दा एसपी र डिएसपी दुबैजनाको एकसाथ सरुवा भएको स्थानीय स्तरमा विष्लेशन हुन थालेको छ । कतिपयले भने प्रशासनमा प्रभाव राख्ने व्यक्तिहरुको धरपकडले एसपी र डिएसपी दुबैलाई सरुवा गरेको बताउने गरेका छन् ।