
रौतहट, ०२ जेठ। प्रादेशिक अस्पताल गौरमा चिकित्सक अभाव भएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीको उपचारमा समेत समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरका अनुसार नवौँ तहका पाँच र आठौँ तहका दुई चिकित्सक विभिन्न निकायमा काजमा खटाइएपछि अस्पताल सञ्चालनमै कठिनाइ भएको छ ।
पचास शय्याको अस्पताललाई सय शय्यामा विस्तार गरिएको भए पनि दरबन्दीअनुसार चिकित्सक तथा अत्यावश्यक उपकरणको व्यवस्था नहुँदा अस्पताल प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो ।
अस्पतालमा चिकित्सक अभावका कारण उपचार सेवा प्रभावित भएको विषय पटक–पटक सम्बन्धित मन्त्रालयमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको डा. ठाकुरको गुनासो छ ।
सेवा विस्तार भए पनि आवश्यक जनशक्ति नहुँदा एउटै चिकित्सकले रातिसम्म काम गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । सीमित जनशक्तिका कारण दैनिक उपचारका लागि आउने दुई सयदेखि तीन सयसम्म बिरामीलाई प्रभावकारी सेवा दिन कठिन भइरहेको उहाँको भनाइ छ ।
चिकित्सकसँगै मेडिकल रेकर्डर सुपरभाइजर, फिजियोथेरापिस्ट, जनस्वास्थ्य अधिकृत र अनमीसमेत काजमा खटाइएको उहाँले जानकारी दिनुभयो । काजमा खटाइएका कर्मचारी हाल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय धनुषामा कार्यरत रहेको अभिलेख अस्पतालसँग रहेको छ ।
काजमा खटाइएका चिकित्सक तथा कर्मचारीलाई फिर्ता ल्याउन पटक–पटक पहल गर्दा पनि सुनुवाइ नभएको भन्दै डा. ठाकुरले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकसम्म पुर्याउने विषयमा प्रदेश सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अवधेश यादवले पनि काजमा रहेका चिकित्सक तथा कर्मचारीलाई फिर्ता ल्याउन पहल भइरहेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा सेवा विस्तार भइरहे पनि विशेषज्ञ चिकित्सक अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको छ ।
“धेरै रोगको उपचारका लागि बाहिर जानुपर्ने अवस्था हट्दै गएको छ, तर विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको छ,” अध्यक्ष यादवले भन्नुभयो ।
उहाँले पचास शय्याअनुसारको जनशक्ति समेत प्रदेश सरकारले पूर्ति गर्न नसकेको अवस्थामा सय शय्यामा स्तरोन्नति गर्नु ‘नौटंकी’ जस्तै भएको टिप्पणी गर्नुभयो । अस्पतालका समस्या पटक–पटक प्रदेश सरकारसमक्ष राखे पनि सुनुवाइ नभएको उहाँको गुनासो छ ।
यता जंगीलाल रायले प्रादेशिक अस्पताल गौरको समस्यालाई गम्भीर रूपमा लिएको बताउनुभयो । उहाँले अस्पतालमा दरबन्दी भई अन्यत्र काजमा रहेका चिकित्सक तथा कर्मचारीलाई फिर्ता ल्याउन निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
अस्पतालमा एघारौँ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेकाले त्यसको व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरिएको मन्त्री रायले बताउनुभयो ।
प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने प्रयास गरिरहे पनि सङ्घीय सरकारबाट खटिएका प्रदेश सचिवहरूको असहयोगका कारण यस्ता समस्या देखिएको मन्त्री रायको भनाइ छ ।
