पूर्वमन्त्री यादवको भनाइ : आवश्यकताअनुसार मात्रै वीरगञ्जको सडक फराकिलो बनाउनुपर्छ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २, शनिबार (१ घण्टा अघि)
  • ३० पटक पढिएको
पूर्वमन्त्री यादवको भनाइ : आवश्यकताअनुसार मात्रै वीरगञ्जको सडक फराकिलो बनाउनुपर्छ

वीरगञ्ज, ०२ जेठ। पूर्व मन्त्री तथा नेकपा (एमाले) का नेता प्रदीप यादवले वीरगञ्जको मुख्य सडक आवश्यकता र औचित्यका आधारमा मात्रै फराकिलो बनाउनुपर्ने बताएका छन् ।

वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अदालतको निर्णय कार्यान्वयन गर्ने क्रममा सरकारले हुकुमी शैली अपनाएर घर तथा पसल खाली गराएको टिप्पणी गरे । एक्कासि संरचना खाली गराउँदा स्थानीय व्यवसायी तथा जग्गाधनीहरूले लाखौँ रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको उनको भनाइ छ ।

उनले भने, “अदालतको निर्णय भएकाले त्यसमा प्रत्यक्ष टिप्पणी गर्ने आधार नभए पनि यसको कार्यान्वयन प्रक्रिया व्यावहारिक र मानवीय हुनुपर्छ ।”

यादवले सम्बन्धित मन्त्री स्वयंले स्थलगत अनुगमन गरी कति मिटर सडक विस्तार उपयुक्त हुन्छ भन्ने विषयमा पुनः मूल्याङ्कन गर्नुपर्ने बताए । आवश्यक परे वैकल्पिक उपायसमेत खोज्नुपर्ने उनको सुझाव थियो ।

विकासका विषयमा सबैको सहमति रहे पनि जनप्रतिनिधिहरूको मौनता देख्दा आफू दुःखी भएको उनले उल्लेख गरे ।

तराई–सीमा क्षेत्रमा लाग्ने भन्सार शुल्कसम्बन्धी विवादबारे उनले हालको कानुन समयानुकूल नभइसकेको भन्दै परिमार्जन आवश्यक रहेको बताए । नेपाल–भारतबिचको सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध निकै गहिरो रहेको उल्लेख गर्दै उनले “रोटी–बेटीको सम्बन्ध” कुनै पनि सरकारले कमजोर बनाउन नसक्ने स्पष्ट पारे ।

यसै क्रममा वीरगञ्जस्थित हरिखेतान कलेजमा भएको घटनालाई उनले दुःखद भएको बताए । दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै उनले विद्यार्थी भर्नाका क्रममा सामुदायिक कलेजमा विवाद सिर्जना गरी निजी कलेजलाई फाइदा पुर्‍याउने प्रयास भएको हुन सक्ने आशङ्का व्यक्त गरे ।

घटनाको योजनाकारसम्म पुगेर निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय पर्सालाई गम्भीर बन्न आग्रह गरे ।

मधेस प्रदेशमा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला पूर्व मन्त्री यादवले “अन्तिम किस्ता उठान” सरकार परिवर्तनको खेल भएको टिप्पणीसमेत गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस