
वीरगञ्ज, ०३ जेठ। वीरगञ्जमा विश्व सडक सुरक्षा सप्ताहको अवसरमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रतिविम्बित (रिफ्लेक्टिभ) स्टिकर टाँस्ने जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
“दुर्घटना न्यूनीकरणमा हामी सबैको सहभागिता र प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रम माईस्थान देखि घण्टाघर चौक सम्म सञ्चालन गरिएको थियो।
कार्यक्रम वीरगञ्ज युवा समाज को आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ता को संयुक्त सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा विशेषगरी साइकलको पछाडि लाइट नभएका साइकल तथा अन्य सवारी साधनमा रातिको समयमा सहज रूपमा देखिने प्रतिविम्बित स्टिकर टाँसिएको थियो। आयोजकका अनुसार यस अभियानले विशेषगरी रातिको समयमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
कार्यक्रम संजीव थापा को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी, वीरगञ्ज युवा समाजका सल्लाहकार मार्टिन मोक्तान को पनि उपस्थिति रहेको थियो। कार्यक्रममा वीरगञ्ज कपडा बैंक का अध्यक्ष लालबाबु सिंह, संस्थाकी उपाध्यक्ष अस्मिता गौतम, सचिव विनोद धिमाल लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक युवराज कटवालले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायसँगै नागरिक समाजको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले सवारी चालक, पैदलयात्री तथा सर्वसाधारण सबैले ट्राफिक नियमको पालना गरे दुर्घटना धेरै हदसम्म कम गर्न सकिने उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रम प्रभावकारी हुने धारणा राखे।
त्यसैगरी प्रहरी निरीक्षक बिक्रम सुवेदीले सडक सुरक्षामा युवाहरूको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै सामूहिक प्रयासबाट मात्रै दुर्घटना न्यूनीकरण सम्भव हुने बताए।
वीरगञ्ज युवा समाजका अध्यक्ष संजीव थापाले समाजमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिइने बताए।
