मधेस प्रदेशमा नयाँ सत्ता समीकरण: कांग्रेस–एमाले–नेकपा गठबन्धन तयार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ८, शुक्रबार (३ दिन अघि)
  • २० पटक पढिएको
मधेस प्रदेशमा नयाँ सत्ता समीकरण: कांग्रेस–एमाले–नेकपा गठबन्धन तयार

जनकपुरधाम, ०८ जेठ। मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिचको नयाँ सत्ता समीकरण बनेको छ । मुख्यमन्त्री कृष्ण यादवले बिहीबार मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका मन्त्रीहरूले राजिनामा गरेसँगै यस्तो समीकरण बनेको हो ।

जनमत पार्टीले यसअघि नै सरकारबाट समर्थन फिर्ता लिए पनि उसका मन्त्रीहरूले राजीनामा दिएका थिएनन् । तर, आज (बिहीबार) नेपाली कांग्रेसलाई साथमा लिएर सरकार पुनर्गठन गर्ने तयारी भएपछि जनमतका मन्त्रीहरूले राजीनामा दिएका हुन् । जसपा नेपालबाट मन्त्रीहरू मनिष सुमन र राजु गुप्ता तथा जनमत पार्टीका महेश यादव र वसन्त कुशवाहा रहेका थिए ।

केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएबमोजिम मधेस प्रदेशमा पनि मधेसवादी दलहरूलाई बाहिर राखेर तीन दलको नयाँ सरकार बनाइएको हो ।

मन्त्रिपरिषद् पुनर्गठनसँगै नेकपा एमाले सरकारमा सहभागी भएको छ । एमालेका तर्फबाट मोहम्मद समिमलाई विना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ र उनले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री यादवले भोलि (शुक्रबार) प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।

यसअघि एमालेका प्रदेश सांसद सरोज यादव एक रिसोर्टमा शपथ लिएर मुख्यमन्त्री बनेका थिए । तर, कांग्रेसले जसपा नेपाल, नेकपा र जनमत पार्टीसँग मिलेर उनलाई पदच्युत गरेको थियो । सो प्रक्रियामा सडक आन्दोलनदेखि सर्वोच्च अदालतसम्म मुद्दा चलेको थियो, तर अन्ततः विश्वासको मत पाउन नसकेपछि सरोज यादवले पद छाड्नुपरेको थियो ।

केही समयअघि एमालेले मधेसमा जसपा नेपालसँग मिलेर सरकार बनाउने घोषणा गरे पनि मुख्यमन्त्रीको उम्मेदवारमा विवाद भएपछि कांग्रेस नेतृत्वको सरकारलाई नै समर्थन गर्ने निर्णय गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस