हरि खेतान क्याम्पसलाई बदनाम गर्न निजी कलेजको षड्यन्त्र : प्रमुख यादवको आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ११, सोमबार (३९ मिनेट अघि)
  • २० पटक पढिएको
हरि खेतान क्याम्पसलाई बदनाम गर्न निजी कलेजको षड्यन्त्र : प्रमुख यादवको आरोप

वीरगञ्ज, ११ जेठ। हरि खेतान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख किशोरी राय यादवले विद्यार्थी भर्नाको समयमा निजी क्षेत्रका कलेज सञ्चालकहरूको इशारामा क्याम्पसलाई सुनियोजित रूपमा बदनाम गराउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

शनिवार जिल्ला समन्वय समिति पर्सामा नागरिक समाजको अगुवाइमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले हरि खेतान क्याम्पस समुदायको सम्पत्ति भएकाले सामुदायिक क्याम्पसकै रूपमा सञ्चालन भइरहने बताए । विद्यार्थी भर्नाको समयमा विभिन्न बखेडा झिकेर वीरगञ्जका केही क्याम्पसहरूले आफ्ना कलेजमा विद्यार्थी तान्न हरि खेतान क्याम्पसविरुद्ध प्रपञ्च रचिरहेको उनको आरोप छ ।

छलफल कार्यक्रममा पूर्व सांसद विचारी यादव, क्याम्पसका पूर्व प्रमुख डा. भगवान् यादव, पर्सा बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एमालेका सुन्दर कुर्मी, सुशील भट्टराई लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले क्याम्पसको वर्तमान अवस्था र भविष्यप्रति चिन्ता व्यक्त गरेका थिए ।

क्याम्पस प्रमुख यादवले तीन दशकभन्दा बढी समय क्याम्पस प्रमुख रहेका डा. भगवान् यादवमाथि क्याम्पसलाई सीमित समूहको प्रभावमा राखेको आरोप लगाए । उनले दाता परिवारलाई प्रभावमा पारेर २०८० असोज १९ गते विधान संशोधन गरिएको र अहिलेको संरचना त्यही विधानअनुसार सञ्चालन भइरहेको दाबी गरे । उनले सामाजिक सञ्जाल वा सार्वजनिक मञ्च जहाँसुकै पनि आफू बहसका लागि तयार रहेको बताए ।

उनले हरि खेतान क्याम्पस कुनै पनि हालतमा निजीकरण हुन नसक्ने स्पष्ट पार्दै वर्तमान संरचनामा आवश्यक पुनः संरचना गर्न सकिने बताए । “गरिब तथा जेहनदार विद्यार्थीहरूले अध्ययन गर्ने क्याम्पसलाई शिक्षा माफियाको चङ्गुलमा फस्नबाट जोगाउनु सबैको दायित्व हो,” उनले भने ।

क्याम्पस सञ्चालक समितिका सदस्य प्रकाश खेतानले पनि गरिब तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति दिँदा आलोचना गर्ने समूहले नै क्याम्पसविरुद्ध भ्रम फैलाएको आरोप लगाए । उनले वीरगञ्जका नागरिकले क्याम्पसको शैक्षिक वातावरण निर्माणमा सहयोग गर्नुपर्ने बताए । साथै विगतमा भ्रष्टाचार र अनियमितताको आरोप खेपेका व्यक्तिहरूप्रति नागरिक समाज सचेत हुनुपर्ने उनको भनाइ थियो ।

यसैबिच, क्याम्पस प्रमुख यादवलाई वैशाख ३१ गते कालोमोसो दलेको आरोपमा दिलीप पण्डित र देवलाल ठाकुर प्रहरी हिरासतमा रहेका छन् । घटनामा संलग्न भनिएका रवीन्द्र यादव, विकी गुप्ता र लालकिशोर पटेल भने हालसम्म पक्राउ नपरेको बताइएको छ ।

ताजा अपडेट

१० सेकेण्ड अघि

Test news

खोजी गर्नुहोस