नागरिकता किर्ते मुद्दामा वीरगञ्ज मेयर सिंह अदालतमा हाजिर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १३, बुधबार (१ हप्ता अघि)
  • ४७ पटक पढिएको
नागरिकता किर्ते मुद्दामा वीरगञ्ज मेयर सिंह अदालतमा हाजिर

वीरगञ्ज, १३ जेठ। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नागरिकता सम्बन्धी लिखत किर्ते गरेको अभियोगमा पर्सा जिल्ला अदालतमा बुधवार स्वयम् उपस्थित भएका छन् । अदालतबाट जेठ ८ गते पक्राउ पुर्जी जारी भएपछि उनी आज कार्यालय समय सुरु हुने ९ बजे नै अदालत पुगेका हुन् ।

मेयर सिंहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अदालतबाट आफ्नो मुद्दामा म्याद जारी भएको जानकारी सञ्चारमाध्यममार्फत पाएपछि न्यायिक प्रक्रियालाई सघाउन स्वेच्छाले अदालतमा हाजिर भएको बताए । “कानुनी प्रक्रियामा सहयोग गर्न म आफैँ उपस्थित भएको हुँ,” उनले भने ।

यद्यपि, अदालतमा मुद्दाको चाप अत्यधिक रहेका कारण बुधवार उनको मुद्दामा सुनुवाइ हुन सकेन । अदालत स्रोतका अनुसार उच्च सङ्ख्यामा मुद्दा दर्ता तथा पेशी रहेको कारण सुनुवाइ स्थगित गरिएको हो । त्यसपछि मेयर सिंह अदालतबाट फर्किएका छन् ।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले पनि मुद्दाको चापका कारण सुनुवाइ हुन नसकेको पुष्टि गरेका छन् ।

अब उक्त मुद्दाको अर्को मिति तोकिएपछि सुनुवाइ अघि बढ्ने अदालत स्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस