
वीरगञ्ज, १३ जेठ। सङ्घ सरकारले वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा वसन्त बहादुर बोहरालाई खटाउने निर्णय गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवको सरुवा गर्ने क्रममा वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बोहरालाई पठाउने निर्णय गरेको हो ।
हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिव बोहरालाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरकारले खटाएको हो ।
यसअघि गत फागुन १२ गते तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेसमलाल कँडेललाई सरुवा गरेको थियो । तर, वीरगञ्जका मेयर राजेशमान सिंहले महानगरको सहमति बेगर गरिएको उक्त निर्णयप्रति असहमति जनाउँदै निर्णयमा पुर्न विचार गर्न आग्रह गर्दै मन्त्रालयमा पत्राचार गरेका थिए । त्यसपछि उक्त विवाद झन् चर्किँदै गएको थियो ।
गत वैशाख २८ गते मात्रै रवाना लिएर वीरगञ्ज महानगरमा हाजिर हुन आएपछि जेठ ५ गते महानगरमा बसेको जनप्रतिनिधिहरूको बैठकले उनलाई हाजिर हुन नदिने भन्दै सरकारले जबरजस्ती गरे महानगरमा ताल्चा लगाएर साँचो मन्त्रालयमा बुझाउने निर्णय गरेको थियो ।
यसअघि वीरगञ्ज महानगरमा सरुवा गरेर पठाइएका रेसमलाल कँडेललाई भने सोमबारको मन्त्रीपरिषद् बैठकले कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाउने निर्णय गरेको छ ।

