१९औँ गणतन्त्र दिवस देशभर उत्साहपूर्वक मनाइँदै

  • Wartman Kal Dainik
  • / अपराध /
  • २०८३ जेष्ठ १५, शुक्रबार (१ हप्ता अघि)
  • ३६ पटक पढिएको
१९औँ गणतन्त्र दिवस देशभर उत्साहपूर्वक मनाइँदै

वीरगञ्ज, १५ जेठ। आज देशभर १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ भव्यतापूर्वक मनाइँदै छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रति फलस्वरूप २०६५ साल जेठ १५ गते जन निर्वाचित संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाइन्छ ।

तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको उपलब्धिका रूपमा २४० वर्षदेखि कायम राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापना गरिएको थियो । यससँगै नेपाली जनताले स्वतन्त्रता, सामाजिक न्याय र समावेशी समानुपातिक लोकतन्त्रसहित नागरिक सर्वोच्चताको अभ्यास गर्ने अवसर प्राप्त गरेका हुन् ।

गणतन्त्र दिवस वंशीय शासनमाथि जनताको विजयको प्रतीकका रूपमा पनि लिइन्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनतालाई राजनीतिक अधिकारको सुनिश्चितता गर्दै समुन्नत भविष्यतर्फ एकताबद्ध भएर अघि बढ्न मार्ग प्रशस्त गरेको विश्वास गरिएको छ ।

यस अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । राष्ट्रपति पौडेलले कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

कार्यक्रममा लोकतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिनेछ भने आन्दोलन र सङ्घर्षका क्रममा त्याग, बलिदान र योगदान गर्ने अग्रजहरूको स्मरण गरिनेछ । लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता र समृद्धिको सुनिश्चितताका लागि नेपाली जनताले भोग्नुपरेका जेलनेल र यातनाको पनि सम्झना गरिनेछ ।

राजनीतिक दलका नेताहरूले गणतन्त्रलाई सुदृढ बनाउँदै जनअपेक्षा र जनभावनाअनुसार शासन सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन् । शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षा र गरिबी निवारणजस्ता क्षेत्रमा ठोस सुधार गर्दै विश्व मञ्चमा नेपाल र नेपालीको प्रतिष्ठा उच्च बनाउनु लोकतान्त्रिक गणतन्त्रको मुख्य कार्यभार भएको उनीहरूको भनाइ छ ।

लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएकाले यसलाई संस्थागत गर्दै नागरिक अधिकारको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व भएकोमा जोड दिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस