
वीरगञ्ज, १५ जेठ। वीरगञ्ज महानगरपालिका–६ मा निर्माणाधीन घरको पर्खाल भत्किँदा च्यापिएर एक महिला मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–४ निवासी ३२ वर्षीय सीतादेवी मुसहर रहेको प्रहरीले जनाएको छ ।
ओम अग्रवालको नयाँ घर निर्माणका क्रममा बिहीबार दिउँसो टपसहित इँटाको पर्खाल अचानक भत्किएर खस्दा काम गरिरहेकी मुसहर गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरधनीको लापरबाहीका कारण दुर्घटना भएको आशङ्का गरिएको छ । निर्माण भइरहेको घर मापदण्डअनुसार नभएको, नक्सा पाससमेत नगरिएको तथा प्रयोग गरिएको निर्माण सामग्री कमसल रहेको प्रारम्भिक रूपमा पाइएको स्रोतले जनाएको छ । कमसल सामग्री र संरचनागत कमजोरीका कारण पर्खाल भत्किएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनापछि प्रहरीले घरधनी अग्रवालका छोरालाई नियन्त्रणमा लिएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाले निर्माण क्षेत्रमा सुरक्षा मापदण्ड पालना र कानुनी प्रक्रिया अनिवार्य रूपमा लागू गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ ।
