बजेटमार्फत जनकपुरधामलाई विवाह गन्तव्य सहर बनाउने सरकारको घोषणा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १६, शनिबार (५ घण्टा अघि)
  • ३२ पटक पढिएको
बजेटमार्फत जनकपुरधामलाई विवाह गन्तव्य सहर बनाउने सरकारको घोषणा

वीरगञ्ज, १६ जेठ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको माता सीताको जन्मभूमि जनकपुरधामलाई विवाह गन्तव्य (डेस्टिनेशन वेडिङ) का रूपमा विकास गर्ने घोषणा गरेका छन् । उनले शुक्रवार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटमार्फत उक्त योजना सार्वजनिक गरेका हुन् ।

बजेट वक्तव्यअनुसार रामजानकी पथ तथा रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । साथै मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र रेल्वे विकास, पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, पोषण कार्यक्रम, तथा शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रका लागि समेत बजेट छुट्याइएको छ ।

अर्थमन्त्री डा. वाग्लेको घोषणालाई मधेस प्रदेशमा सकारात्मक रूपमा लिइएको छ । उद्योग वाणिज्य सङ्घ जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले विवाह गन्तव्यका रूपमा जनकपुरधामको विकासले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुने विश्वास व्यक्त गरे । “यसबाट स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना भई आर्थिक गतिविधि चलायमान हुनेछ,” उनले भने ।

त्यस्तै, बजेटमार्फत सरकारले कर दरमा गरेको छुटको व्यवस्थाले उद्योगी तथा व्यवसायीलाई राहत पुगेको र यसले औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई थप टेवा पुग्ने उनको भनाइ छ ।

स्थानीय पत्रकार रञ्जन मिश्रले पनि पत्रकारका लागि दिइँदै आएको कल्याणकारी कोषका लागि बजेट विनियोजनको घोषणा सकारात्मक रहेको बताए । उनले यसले सञ्चारकर्मीहरूको मनोबल बढाउने विश्वास व्यक्त गरे ।

सरकारको योजनाले धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण जनकपुरधामलाई नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस