
वीरगञ्ज, १९ जेठ। वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग गर्दै स्थानीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिकासको नाममा विनास गर्न नहुने भन्दै उनीहरुले डोजर आतंक बन्द गर्नुपर्ने मागसहित मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले वीरगञ्जको मेन रोडलाई शहरी मार्ग कायम गर्न पनि माग गरेका हुन् । साथै उनीहरुले सर्वोच्च अदालतले वीरगञ्जबासीलाई न्याय देऊ, वीरगञ्जमा डोजर आतंक बन्द गरलगायका नारा लगाएका थिए ।
वीरगञ्ज सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले दशकौंदेखि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउने तयारीले हजारौं परिवार विस्थापित हुने बताए ।
उनले मुआव्जाका लागि सर्वोच्चमा रिट दायर गरेको लामो समय हुँदा पनि कुनै सुनुवाई हुन नसकेको गुनासो गरे । उनले वीरगञ्जको मेनरोडलाई शहरी मार्गको रुपमा कायम गर्नुपर्ने बताए ।
