डेढ दशकदेखि अलपत्र कमला पुल, बजेट नपरेपछि स्थानीय आक्रोश

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २०, बुधबार (१३ घण्टा अघि)
  • ३९ पटक पढिएको
डेढ दशकदेखि अलपत्र कमला पुल, बजेट नपरेपछि स्थानीय आक्रोश

सिरहा, २० जेठ। पूर्व-पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला नदी माथिको बहुप्रतीक्षित पुल निर्माण वर्षौंदेखि अधुरै रहँदा सिरहा र धनुषावासीमा सरकारप्रतिको असन्तोष तीव्र बनेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटमा पनि स्पष्ट रूपमा रकम विनियोजन नभएपछि स्थानीय तहमा निराशा र आक्रोश बढेको हो ।

स्थानीयवासीका अनुसार करिब डेढ दशकअघि सुरु गरिएको पुल निर्माण कार्य विभिन्न कारणले रोकिँदै आएको छ । पछिल्ला वर्षमा बाढीले संरचनामा क्षति पुर्‍याएपछि पुनर्निर्माण झन् सुस्त छ । अहिले सीमित मर्मत र अस्थायी व्यवस्थामार्फत मात्र आवतजावत सञ्चालन भइरहेको छ ।

धनुषाका स्थानीय रामबाबु साहका अनुसार पुल नबन्दा दुवै जिल्लाका नागरिकले दैनिक रूपमा सास्ती भोगिरहेका छन् । करिब १५ वर्षदेखि पुल निर्माण भइरहेको भनिए पनि प्रगति देखिएको छैन ।

उनका अनुसार कमला पुल सञ्चालनमा आएको भए सिरहाबाट धनुषा करिब ३० मिनेटमै पुगिन्थ्यो । तर अहिले वैकल्पिक मार्ग प्रयोग गर्दा दुईदेखि तीन घण्टासम्म समय खर्चिनुपर्छ । केही महिनाअघि पुल छेउमा बनाइएको डाइभर्सन बाढीले बगाएपछि समस्या झन् जटिल बनेको छ । ‘पानी कम भएका बेला त जोखिम मोलेर आवतजावत गरिरहेका छौं, तर बाढी आएका बेला कतिबेला दुर्घटना हुन्छ भन्ने त्रास रहिरहन्छ,’ साहले भने । विगतमा बाढीका बेला सवारीसाधन र मानिसहरू नदीमा फसेका तथा बग्ने घटनासमेत भएको उनले स्मरण गरे ।

पटक–पटक प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले स्थलगत निरीक्षण गरी आश्वासन दिए पनि परिणाम नदेखिएको स्थानीयको आरोप छ । सिरहा नगरपालिका–५ का जुगेश्वर झाखरेल भन्छन्, ‘हरेक चुनावमा नेताहरू कमला पुल बनाइदिने आश्वासन लिएर आए, चुनाव जिते, प्रधानमन्त्रीदेखि मन्त्रीसम्म पुलमा आएर फोटो खिचाए, तर पुल भने बनेन ।’

२०७४ यता विभिन्न उच्चस्तरीय भ्रमण र अनुगमन भए पनि परियोजना ठोस चरणमा अघि बढ्न नसकेको स्थानीयको भनाइ छ ।

२०६८ सालमा करिब २४ करोड ९० लाख रुपैयाँ लागतमा पुल निर्माणको ठेक्का भए पनि निर्माण कम्पनीको ढिलासुस्ती, प्रशासनिक जटिलता र प्राकृतिक विपत्तिका कारण आयोजना दीर्घकालीन अलपत्र अवस्थामा पुगेको छ । २०७८ सालको बाढीले संरचनामा थप क्षति पुर्‍याएको थियो ।

भदौ २३ र २४ गतेको जनआन्दोलनपछि नयाँ राजनीतिक शक्तिप्रति स्थानीयको आशा थियो । तर, जेठ १५ गते सार्वजनिक भएको बजेटमा पुलका लागि रकम विनियोजन नभएको भन्दै स्थानीय निराश छन् ।

स्थानीय कामेश्वर गोइत सरकारले हुलाकी सडकअन्तर्गत आठवटा पुल निर्माण गर्ने घोषणा गरे पनि कुन–कुन पुल निर्माण हुने भन्ने स्पष्ट जानकारी नदिएकाले निराश बनेको बताउँछन् । ‘यदि कमला पुललाई नै लक्षित गरेर बजेट छुट्याइएको भए जनतामा केही आशा जाग्थ्यो । अहिले त त्यो आशा पनि समाप्त भएको छ,’ उनी भन्छन्, पुरानो पुललाई मर्मत गरेर सञ्चालन गर्नु दीर्घकालीन समाधान होइन । यसले भविष्यमा थप जोखिम निम्त्याउन सक्छ । त्यसैले नयाँ पुल निर्माण हुनुपर्छ ।’

पुल निर्माणको माग गर्दै स्थानीय आन्दोलनमा समेत उत्रिएका छन् । जेठ १८ गते जनकपुरधामस्थित मधेश प्रदेशसभा अगाडि प्रदर्शनमा सहभागीहरुले ‘लाज लाग्दैन, नयाँ कमला पुल कहिले सुरु हुन्छ ?’ भन्ने नारासहित प्रदर्शन गरेका थिए ।

उनीहरुले ‘कहिलेसम्म संघ सरकारको मुख हेरेर बस्ने ?’, ‘प्रदेश सरकार हो कि संघ सरकारको शाखा हो ?’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले प्रदेश सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।

सिरहा नगरपालिका–६ का अध्यक्ष इन्द्रजित यादवले कमला पुललाई प्रदेश सरकारले बजेटमा समेटेन भने चरणबद्ध आन्दोलन गर्ने बताए । उनले भने, ‘संघ सरकारले हाम्रो आवाज सुन्दैन, प्रदेश सरकारले समेत आनाकानी गर्‍यो भने यसपालि वारपारको आन्दोलन हुन्छ ।’

‘हुलाकी कमला संघर्ष समिति’का संयोजक इन्जिनियर प्रविण कुमार यादवका अनुसार कमला पुल निर्माणका विषयमा प्रदेशका सभामुख रामआशिष यादवलाई ज्ञापनपत्र बुझाइएको तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव सहित विभिन्न दलका सांसदलाई आवश्यक पहल गर्न आग्रह गरिएको छ । तर सिरहा क्षेत्र –१ का सांसद बब्लु गुप्ता र सिरहा क्षेत्र नम्बर ४ का  सांसद तपेश्वर यादवले हुलाकी मार्ग अन्तर्गत छुट्याइएको बजेटमा कमला पुल समेटिएको समाजिक सन्जालमा दावी गर्दै आएका छन् ।

वि.सं. २०६८ जेठ ३१ गते पप्पु–लुम्बिनी जेभीले २४ करोड ९० लाख ९७ हजार रुपैयाँ लागतमा ४६९.२ मिटर लामो पुल निर्माणको ठेक्का पाएको थियो । तर पुल निर्माण पूरा भएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस