
बारा , २२ जेठ । बाराको सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प बरियारपुरका केही सुरक्षाकर्मीमाथि अवैध असुली तथा तस्करी गतिविधिलाई संरक्षण दिएको आरोप सार्वजनिक भएपछि स्थानीय तहमा चर्चा सुरु भएको छ। स्रोतहरूले क्याम्पका सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलको कार्यकालमा एक सशस्त्र प्रहरी जवानलाई अनौपचारिक रूपमा ‘घुमुवा’ परिचालन गरिएको र त्यसको आडमा विभिन्न स्थानबाट अवैध रकम संकलन हुने गरेको आरोप लगाएका छन्।
सशस्त्र प्रहरी स्रोतका अनुसार बेस क्याम्प बरियारपुरमा कार्यरत सशस्त्र प्रहरी जवान राम प्रवेश कुशवाहा आधिकारिक रूपमा कोट मास्टरको जिम्मेवारीमा रहे पनि व्यवहारमा भने उनलाई सिमावर्ती क्षेत्रको गतिविधि निगरानी तथा समन्वयका नाममा परिचालन गरिएको बताइन्छ। स्रोतको दाबीअनुसार सिम्रौनगढ, कवहीगोठ, दक्षिण झिटकैया, मटिअर्वालगायतका सीमावर्ती नाकाबाट हुने कथित तस्करी गतिविधिमा निगरानीको सट्टा संरक्षण प्रदान गरिएको आरोप छ।
स्थानीय स्रोतहरूले ती नाकाबाट भित्रिने विभिन्न मालसामान बरियारपुर तथा गञ्जभवानीपुर क्षेत्रमा भण्डारण हुने गरेको र त्यसक्रममा विभिन्न पक्षसँग आर्थिक लेनदेन हुने गरेको दाबी गरेका छन्। स्रोतका अनुसार उक्त गतिविधिबाट संकलित रकमको व्यवस्थापनमा जवान कुशवाहाको भूमिका रहेको आरोप लगाइएको छ। यद्यपि यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्।
त्यस्तै कलैया–बरियारपुर सडकखण्डमा रहेको सशस्त्र प्रहरी चेकपोष्ट आसपासबाट सञ्चालन हुने मालवाहक सवारी, भारतीय नम्बर प्लेटका गाडी, माछा बोकेका सवारी तथा सीमावर्ती क्षेत्रबाट ल्याइने चौपायामाथि समेत अनौपचारिक रकम असुली हुने गरेको आरोप स्थानीय बासिन्दा तथा केही प्रत्यक्षदर्शीहरूले लगाएका छन्। उनीहरूका अनुसार नियमित जाँचको नाममा विभिन्न सवारी तथा व्यवसायीहरूबाट रकम उठाइने गरेको गुनासो छ।
यस विषयमा प्रतिक्रिया लिन सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलसँग सम्पर्क गर्दा उनले आरोपहरू अस्वीकार गरेका छन्। उनले सशस्त्र प्रहरी जवान राम प्रवेश कुशवाहा कोट मास्टरको जिम्मेवारीमा मात्र रहेको दाबी गर्दै तस्करी नियन्त्रणका क्रममा बाहिरबाट आवश्यक रासन तथा अन्य सामग्री ल्याउने काममा खटिने गरेको बताएका छन्। साथै आरोप लगाउने वा गुनासो गर्ने व्यक्तिलाई प्रत्यक्ष रूपमा आफूसँग भेटाउन समेत उनले आग्रह गरेका छन्।
यता स्थानीय सरोकारवालाहरूले सीमावर्ती क्षेत्रमा पटक–पटक यस्ता गुनासा उठिरहेकाले सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्। उनीहरूको भनाइमा यदि आरोप निराधार भए सम्बन्धित सुरक्षाकर्मीको प्रतिष्ठा जोगिनुपर्छ भने आरोप सत्य ठहरिए दोषीमाथि कडा कारबाही हुनुपर्छ।
सीमा सुरक्षा र तस्करी नियन्त्रण जस्तो संवेदनशील जिम्मेवारी बोकेको निकायमाथि नै संरक्षण र असुलीका आरोप लाग्नु गम्भीर विषय भएको भन्दै स्थानीयहरूले सशस्त्र प्रहरी बलको प्रदेश तथा केन्द्रीय नेतृत्वले घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। आरोप र प्रत्यारोपबीच वास्तविकता के हो भन्ने विषय अब आधिकारिक छानबिनबाट मात्रै स्पष्ट हुने देखिएको छ।
