वीरगञ्ज नाकाबाट कजाकिस्तानकी महिला र नाबालिग छोरा नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १, सोमबार (२ घण्टा अघि)
  • ३९ पटक पढिएको
वीरगञ्ज नाकाबाट कजाकिस्तानकी महिला र नाबालिग छोरा नियन्त्रणमा

वीरगञ्ज, ०१ असार। भारत–नेपाल सीमास्थित वीरगञ्जको मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा नेपाल प्रहरीले कजाकिस्तानकी एक विदेशी महिला र उनका नाबालिग छोरालाई नियन्त्रणमा लिएको छ। भिसाको अवधि सकिइसकेको अवस्थामा नेपाल प्रवेश गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि अध्यागमन कार्यालय बुझाइएको हो।

प्राप्त जानकारीअनुसार २८ वर्षीया कजाकिस्तानकी नागरिक एसेल किडिमोल्डा आफ्नो नाबालिग छोरासहित भारतको रक्सौलस्थित मैत्री पुल हुँदै नेपाल प्रवेश गर्न लागेकी थिइन्। शंकराचार्य गेटमा खटिएका सुरक्षाकर्मीले नियमित जाँचका क्रममा उनीहरूको यात्रा कागजात परीक्षण गरेका थिए।

कागजात जाँचका क्रममा महिलाको भिसा अवधि समाप्त भइसकेको खुल्न आएपछि प्रहरीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार भिसाको म्याद सकिएको अवस्थामा नेपाल प्रवेश गर्न खोजिएकाले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रियाका लागि आमा–छोरालाई वीरगञ्जस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको छ।

अध्यागमन कार्यालयले अब उनीहरूको यात्रा कागजात, भिसाको अवस्था तथा नेपाल प्रवेशको उद्देश्यबारे विस्तृत अनुसन्धान गर्नेछ। अनुसन्धानपछि प्रचलित आप्रवासन कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने जनाइएको छ।

भारत–नेपाल सीमाबाट तेस्रो मुलुकका नागरिकहरूको आवागमनमा सुरक्षा निकायले विशेष निगरानी गर्दै आएका छन्। यस्ता नागरिकका लागि वैध राहदानी र भिसा अनिवार्य हुने भएकाले सीमा नाकाहरूमा कागजातको कडाइका साथ जाँच हुने गरेको छ।

सुरक्षा अधिकारीहरूका अनुसार पछिल्ला महिनाहरूमा रक्सौल–वीरगञ्ज नाका हुँदै यात्रा गर्ने केही विदेशी नागरिकहरू पनि कागजातसम्बन्धी अनियमितताका कारण नियन्त्रणमा पर्ने गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस