
सिरहा, ०१ असार। किसानलाई अनुदानमा वितरण गर्न ल्याइएको १३ बोरा युरिया मल अनधिकृत रूपमा बिक्री भइरहेको अवस्थामा सिरहामा बरामद गरिएको छ। धान रोपाइँको मुख्य सिजनमै अनुदानको मल बजारमा बेचबिखन भइरहेको सूचनापछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले उक्त मल नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार धनगढीमाई नगरपालिका–१० स्थित एक किराना पसलमा गरिएको अनुगमनका क्रममा ३३ केजीका दरले प्याक गरिएको १३ बोरा युरिया मल बरामद गरिएको हो। प्रारम्भिक अनुसन्धानबाट उक्त मल किसानका लागि छुट्याइएको अनुदानको रहेको खुलेको जनाइएको छ।
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराल, राष्ट्रिय अनुसन्धान विभागका डीएसपी रिजन यादव तथा कृषि सामग्री कार्यालय लहानका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रशासनले बरामद गरिएको मलको स्रोत, वितरण प्रक्रिया तथा बिक्रीमा संलग्न व्यक्ति वा समूहबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ। प्रारम्भिक रूपमा किसानका लागि उपलब्ध गराइएको अनुदानको मल निजी रूपमा बिक्री गर्न खोजिएको आशंका गरिएको छ।
डीएसपी रिजन यादवले कृषकको हितका लागि ल्याइएको मल कालोबजारी गर्ने वा अनधिकृत रूपमा बिक्री–वितरण गर्ने जोसुकैमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन्।
धान रोपाइँको समयमा मल अभावको समस्या झेलिरहेका किसानका लागि छुट्याइएको मल नै बजारमा बिक्री भएको घटना सार्वजनिक भएपछि स्थानीय कृषकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले कृषि सामग्रीको वितरण प्रणालीलाई थप पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रशासनले घटनाको सत्यतथ्य पत्ता लगाउन अनुसन्धान जारी रहेको र दोषी भेटिए कानुनअनुसार कारबाही गरिने जनाएको छ।
