
सिरहा, ०६ असार। सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीस्थित एक घरमा भएको डकैती घटनाले विगतमा तराई क्षेत्रमा सक्रिय सशस्त्र समूहहरूको झझल्को पुनः सम्झाइदिएको छ ।
गत मंसिर ३ गते भएको उक्त घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान भएपछि जिल्ला अदालत सिरहाले गत जेठमा पक्राउ परेका प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । घटनाअनुसार बेल्हाकट्टीका मुकेशकुमार सिंहको घरमा मध्यराति ८/१० जनाको सशस्त्र समूह प्रवेश गरेको थियो । हतियारधारी डकैतहरूले परिवारका सदस्यलाई नियन्त्रणमा लिएर महिलाले लगाएका सुनचाँदीका गरगहना, नगद तथा अन्य बहुमूल्य सामग्री लुटेर लगेका थिए ।
प्रहरी अनुसन्धानले डकैतीमा भारतीय नागरिक तथा भारतीय सुटरसमेत संलग्न रहेको खुलाएको छ । डकैत समूह मुकेशकुमार सिंहको घरमा करिब २०/२५ मिनेटसम्म लुटपाट गरेपछि अर्को घरतर्फ जान लागेको थियो । त्यसक्रममा स्थानीय वीरेन्द्र महतो र उनका छोरा अनिलकुमार महतोले प्रतिकार गर्ने प्रयास गरेका थिए ।
प्रतिकार भएपछि समूहका सदस्य बद्री भनिने अजय पासवान र मोटु भनिने हिरालाल पासवानले कटुवा पेस्तोलबाट गोली चलाएका थिए । उक्त गोली वीरेन्द्र र अनिल दुवैको छातीमा लागेको थियो । समयमै उपचार पाएकाले उनीहरूको ज्यान जोगिए पनि उपचारमा ठूलो रकम खर्च भएको बताइएको छ । मंसिरमा भएको उक्त घटनाको अनुसन्धान प्रहरीका लागि चुनौतीपूर्ण बनेको थियो ।
घटनापछि डकैत समूह भारत प्रवेश गरिसकेको थियो । अझ रोचक पक्ष के थियो भने सोही समूहले भारत पुगेपछि त्यहाँका केही क्षेत्रमा समेत डकैती गरेको तथ्य अनुसन्धानबाट खुलेको छ । प्रहरीले प्राप्त विशेष सूचनाका आधारमा फागुन ६ गते सिरहा नगरपालिका–१३ स्थित सडक खण्डबाट लहानका लाल मोहम्मद अन्सारी, एकवाल मियाँ तथा भारतीय नागरिक मोहम्मद गुलाब अन्सारीलाई पक्राउ गरेको थियो ।
पक्राउपछि उनीहरूको डेरामा गरिएको खानतलासीका क्रममा लाल मोहम्मदको कोठाबाट कटुवा बन्दुक, दुई राउन्ड गोली र ३० ग्राम खैरो हेरोइन बरामद भएको थियो। त्यस्तै गुलाब अन्सारीको डेराबाट कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेको थियो । मुख्य अभियुक्तमध्येका एक मोहम्मद एकवाल मियाँले प्रहरीसमक्ष दिएको बयानमा आफू ६–७ लाख रुपैयाँ ऋणमा डुबेको र ऋण तिर्ने उपाय खोज्ने क्रममा डकैती समूहको सम्पर्कमा पुगेको स्वीकार गरेका छन् ।
उनका अनुसार काकाको छोरा मोहम्मद हाकिम मियाँ र मामा नाता पर्ने मोहम्मद हकिम फकिरमार्फत उनी गिरोहसँग जोडिएका थिए । एकवालको बयानअनुसार गोलबजारमा लाल मोहम्मद अन्सारीसँग भेट भएपछि भारतीय डकैतहरूसँग मिलेर काम गर्ने प्रस्ताव स्वीकार गरिएको थियो । त्यसपछि मोटरसाइकल र इलेक्ट्रोनिक रिक्सा प्रयोग गरी उनीहरू कमला नदी किनार पुगेका थिए, जहाँ भारतीय नागरिकसहित अन्य व्यक्तिहरूसँग भेट गरी बेल्हाकट्टीमा डकैती गर्ने योजना बनाइएको थियो । डकैतीअघि प्रत्येक सदस्यलाई फरक–फरक जिम्मेवारी दिइएको थियो। केहीलाई घरभित्र प्रवेश गर्ने, केहीलाई बाहिर निगरानी गर्ने तथा प्रतिकार भए गोली चलाउने जिम्मा दिइएको अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा डकैतीपछि लुटिएका सुनचाँदीका गहना लहानस्थित सुमिता ज्वेलर्सका सञ्चालक दीपेन्द्र साह सोनारलाई बिक्री गरिएको तथ्य पनि खुलेको छ । प्रतिवादी एकवाल मियाँ र अमरप्रकाश पासवानले गहना बिक्रीबाट प्राप्त रकम गिरोहका सदस्यहरूबीच बाँडफाँट गरिएको बयान दिएका छन् । प्रहरीका अनुसार यो समूहले बेल्हाकट्टी घटनापछि भारतको लदनिया बजार क्षेत्रमा समेत अर्को डकैती गरेको थियो । उक्त घटनामा भारतीय प्रहरीले अनुसन्धान गरी मोहम्मद हकिम फकिरलाई पक्राउ गरेर भारतमै कारागार चलान गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार घटनाको अनुसन्धान र आरोपीहरूको पहिचान तथा पक्राउ प्रक्रिया निकै कठिन रहेको थियो । लाल मोहम्मद अन्सारी र मोहम्मद गुलाब अन्सारी पक्राउ परेपछि अन्य अभियुक्तसम्म पुग्न सहज भएको उनले बताए । यसै प्रकरणमा अमरप्रकाश पासवानलाई गोलबजार नगरपालिका–६ बाट पक्राउ गरिएको थियो ।
उनीहरूको बयानका आधारमा प्रहरीले एकवाल मियाँलाई पनि नियन्त्रणमा लिएको थियो । हालसम्म पक्राउ परेका ११ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
यद्यपि प्रकाश पासवान, अजय पासवान, विजय पासवान, हिरालाल पासवान, हकिम मियाँ, दीपेन्द्र साह सोनार तथा अलाउद्दिन अन्सारीलगायत केही अभियुक्त अझै फरार रहेका छन् । सिरहा प्रहरीले उनीहरूको खोजी कार्य जारी रहेको जनाएको छ ।
