पर्सामा सशस्त्र प्रहरीको छापा : अवैध सामान बरामद, चल्ला नष्ट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ९, मंगलबार (४ घण्टा अघि)
  • ३० पटक पढिएको
पर्सामा सशस्त्र प्रहरीको छापा : अवैध सामान बरामद, चल्ला नष्ट

वीरगञ्ज , ०९ असार। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले विभिन्न स्थानबाट करिब १५ लाख ८९ हजार ३०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको तथा कुखुरा र हाँसका चल्ला नष्ट गरिएको जनाएको छ।

गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनराज निरौलाका अनुसार असार ८ गते वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरेको कपडा, ल्यापटप, फलफूल तथा ई–रिक्सासहित १२ लाख २१ हजार ६१० रुपैयाँ बराबरको सामान तथा सवारी साधन बरामद गरेको थियो। बरामद सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यसैगरी सोही दिन जगरनाथपुर गाउँपालिका–२ स्थित मुरैया चोक र दशौतामा सीमा सुरक्षा गुल्म हेडक्वार्टर भिखमपुरबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ३७ हजार ७९० रुपैयाँ बराबरका १२ भोल्टका ब्याट्री, भाँडावर्तन, कस्मेटिक सामग्री, एउटा बाख्रा तथा दुई वटा खसी नियन्त्रणमा लिई वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

यसैबीच, जगरनाथपुर गाउँपालिका–३ जमुनिया स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको बीओपी पिडारीगुठीबाट खटिएको टोलीलाई देख्नासाथ दुई जना व्यक्ति साइकलमा लोड गरी ल्याइँदै गरेको ६०० वटा हाँस र कुखुराका चल्ला छाडेर फरार भएका थिए। ती चल्लाको अनुमानित मूल्य एक लाख ८० हजार रुपैयाँ रहेको जनाइएको छ।

बरामद गरिएका चल्लाहरू पशु चिकित्सक, नेपाल प्रहरी तथा स्थानीयवासीको रोहवरमा बीओपी परिसर नजिकैको खाली जग्गामा खाडल खनेर पुरेर नष्ट गरिएको सूचना अधिकारी मोहनराज निरौलाले जानकारी दिए।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध आयात नियन्त्रणका लागि निगरानी र सुरक्षा गतिविधि थप प्रभावकारी बनाइएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस