
सिरहा, ०९ असार। सिरहाको औरही गाउँपालिका-५ स्थित गागन खोलाको निर्माणाधीन पुल भासिँदा हुलाकी राजमार्ग अवरुद्ध भएको छ । सडक भासिएसँगै दुर्घटनाको जोखिम बढेपछि अहिले सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ ।
स्थानीयका अनुसार पुरानो पुलको छेउमा नयाँ पुल निर्माणका क्रममा जथाभावी माटो उत्खनन गरेका कारण सडक भासिएको हो । वर्षाले तीव्र कटान गर्दा सडकको भित्री भाग पूर्ण रूपमा खोक्रो बनेर सडक भासिएको छ ।
बाहिरबाट सडक सामान्य देखिए पनि भित्रको माटो बगिसकेकाले जुनसुकै बेला थप भासिने र ठूलो दुर्घटना हुन सक्ने जोखिम रहेको स्थानीय बताउँछन् ।
स्थानीय दीपेन्द्र कुमार यादवले निर्माण कम्पनी र सम्बन्धित निकायको लापरबाहीका कारण यस्तो अवस्था आएको आरोप लगाए ।
‘समयमै माटो संरक्षण र कटान नियन्त्रणको काम भएको भए आज सडक भासिने अवस्था आउने थिएन । अहिले सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ’, उनले भने ।
अर्का स्थानीय श्रीदेव यादवले सडक भासिएको स्थानमा कुनै सुरक्षा व्यवस्था नगरिएकाले रातिको यात्रा झनै जोखिमपूर्ण बनेको बताए । ‘सडकको भित्री भाग पूरै खाली भइसकेको छ । बाहिरबाट नदेखिने भएकाले जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्छ’, उनले भने, ‘सम्बन्धित निकायले तत्काल सुरक्षा व्यवस्था र मर्मतको काम सुरु गर्नुपर्छ ।’
स्थानीय सुरेशकुमार यादवले वर्षायाम नजिकिँदै गर्दा पुल निर्माणका लागि गरिएको जथाभावी उत्खनन नै अहिलेको समस्याको मुख्य कारण भएको दाबी गर्दै यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे ।
गागन खोलामा ४० मिटर लामो पुल निर्माणका लागि २०८२ असार ४ गते ठेक्का सम्झौता भएको थियो । २०८४ असार ३ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कर्जन्हा नगरपालिका–५, सिरहास्थित जेबिएम जवाहर जेडी निर्माण कम्पनीले ८ करोड ६७ लाख ८१ हजार ४०७ रुपैयाँमा ठेक्का पाएको हो ।
हुलाकी सडक निर्देशनालय, जनकपुरका इन्जिनियर सूर्यनारायण मण्डलले सडक भासिएपछि तत्काल वैकल्पिक मार्गबाट सवारी सञ्चालन गरिएको जानकारी दिए ।
उनका अनुसार निर्माण कम्पनीलाई क्षतिग्रस्त सडक तत्काल मर्मत गर्न निर्देशन दिइसकिएको छ । वर्षाका कारण सडक कटान भएको हो । ‘अहिले सबै सवारी वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन् । निर्माण कम्पनीले मर्मत तथा संरक्षणको काम सुरु गर्दैछ । मौसमले साथ दिए सडक पुनः सञ्चालनमा आउन करिब एकदेखि दुई सातासम्म लाग्न सक्छ’, इन्जिनियर मण्डलले भने ।
हुलाकी राजमार्गअन्तर्गत जनकपुर निर्देशनालयको कार्यक्षेत्रमा पर्ने चार जिल्लामा कुल २१ वटा पुल निर्माण गर्ने योजना रहेको छ । तीमध्ये सिरहा जिल्लामा पाँच वटा पुल निर्माण हुनुपर्नेछ ।
हाल कमला, त्रिशूला र गागन खोलामा निर्माण कार्य जारी रहे पनि बाँकी पुलहरूको निर्माण कार्य अझै सुरु हुन सकेको छैन ।
सिरहा र धनुषा जोडने कमला पुलको डाइभर्सन वर्षाका कारण बग्दा र गागन पुल छेउको बाटो भासिँदा अहिले हुलाकी राजमार्ग प्रयोग गरेर आवतजावत गर्ने सर्वसाधारणहरुले लामो दूरीको यात्रा प्रयोग गर्न बाध्य छ्न् ।
