संविधान संशोधन र संघीयताका लागि आन्दोलन गर्ने जसपाको चेतावनी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १०, बुधबार (२ घण्टा अघि)
  • २९ पटक पढिएको
संविधान संशोधन र संघीयताका लागि आन्दोलन गर्ने जसपाको चेतावनी

जनकपुरधाम, १० असार।जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र संघीयतालाई सबल बनाउने मुद्दा अघि नबढाइए पार्टी सडकमा डन्डा लिएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

जनकपुरधाममा मंगलबार अगुवा कार्यकर्ता भेलामा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन तथा संघीयताको प्रभावकारी कार्यान्वयन जसपाको मुख्य एजेण्डा रहेको उल्लेख गर्दै यी विषयलाई सरकारले प्राथमिकतामा नराखे पार्टी आन्दोलनमा जान बाध्य हुने बताए । ‘संविधान संशोधन होस्, संघीयता सबल बनोस् । यी मुद्दा हाम्रै हो । यसमा सरकार अघि बढ् यो भने जसपाको एजेण्डा कार्यान्वयन हुन्छ, अन्यथा हामी सडकमा उत्रिन्छौँ,’ उनले भने ।

प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसक्नुका कारणबारे पार्टीले समीक्षा गरेको जानकारी दिँदै यादवले आन्तरिक र बाह्य दुवै कारण जिम्मेवार रहेको बताए । जसपा नेपालले विगतमा मधेश प्रदेश सरकारको लामो समयसम्म नेतृत्वको गरेको स्मरण गर्दै अध्यक्ष यावले त्यतिबेलाको मधेश प्रदेश सरकारको केही कमजोरी भए पनि शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरे ।

मधेशमा दुई वटा विश्वविद्यालय स्थापना, जनकपुरधाममा अस्पताल सञ्चालनजस्ता उपलब्धि भए पनि तिनको प्रभावकारी प्रचारप्रसार हुन नसकेकोमा अगुवा कार्यकर्ता समक्ष गुनासो समेत गरे । अध्यक्ष यादवले लामो समयदेखि सत्ता सञ्चालन गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतका दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको आरोप लगाए । कांग्रेसले ०४६ सालदेखि र त्यसपछि कम्युनिष्टले पनि ०८२ सालसम्म कांग्रेस–कम्युनिष्टले सरकारको नेतृत्व गरे पनि जनताको अपेक्षा अनुसार काम नगर्दा प्रतिनिधिसभा सदस्य निर्वाचनमा बढारिनु परेको दाबी गरे ।

उनले कांग्रेस–कम्युनिष्टका सरकारसंग किसान, मजदुर, विद्यार्थीलगायतकाले गरेका अपेक्षाहरु पूरा गर्न नसक्दा उनीहरुले विकल्प खोज्दै यस निर्वाचनमा बढारिन पुगेको बताए । उनले किसान, मजदुर, विद्यार्थीका माग र अपेक्षा पूरा गर्न नसक्दा तथा उत्पादनमूलक क्षेत्रको विकास हुन नसक्दा जनतामा निराशा बढेको उनको भनाइ थियो । उनका अनुसार ती दलहरूसंगको सहकार्यका कारण जसपा नेपाल पनि जनअसन्तुष्टिको प्रभावबाट अछुतो रहन सकेन । ‘लामोसमयदेखि सत्तामा रमाएका पुराना दलहरूसंगको संगतकै कारण जसपा नेपाल पनि जनताको असन्तुष्टिको शिकार बन्यो,’ उनले भने ।

अध्यक्ष यादवले पार्टी विभाजनले जसपा नेपालको साखमा संकट उत्पन्न गरेको स्वीकार गर्दै त्यसबाट कार्यकर्तामा निराशा र आक्रोश पैदा हुनु स्वाभाविक रहेको बताए । उनले पार्टी विभाजनलाई व्यक्तिगत लाभ र मन्त्री पद प्राप्त गर्ने उद्देश्यसँग जोड्दै आलोचना गरे । ‘पार्टी विभाजन भयो र भोलिपल्टै मन्त्रीको शपथ लिइयो । मन्त्री पद र व्यक्तिगत स्वार्थका लागि पार्टी फुटाउने प्रवृत्तिले कार्यकर्ताको संघर्ष र बलिदानको सम्मान हुन सकेन,’ यादवले भने । उनले पार्टीभित्र देखिएको असन्तुष्टि र आक्रोशलाई स्वाभाविक प्रतिक्रिया भन्दै अब जसपा नेपालले जनतामाझ पुगेर संघीय गणतन्त्रको रक्षा, संविधान संशोधन र जनअधिकारको मुद्दालाई थप सशक्त रूपमा उठाउनका लागि जनमत प्राप्त भए अनुसार आन्दोलनको तयारीमा जुट्नका लागि निर्देशन दिए ।

मधेश आन्दोलन पछि पटकपटक भएको टुटफुट र फुट्नेहरु सत्तामुखी भइ सरकारमा तत्कालै सहभागी हुने प्रवृत्तिगत सत्तालिप्साका कारण समग्र मुद्दानै कमजोर हुन पुगेको स्वीकार गर्दै अध्यक्ष यादवले बताए । कार्यक्रममा जसपा नेपालका केन्द्रीय समन्वय समितिका सदस्यहरु शरतसिंह भण्डारी, लालकिशोर, परमेश्वर साहलगायतका नेताहरुले बोलेका थिए ।

प्रतिनिधिसभा निर्वाचमा पराजित भए पछि देशव्यापी कार्यक्रम अनुसार जसपा नेपालले मधेशसहितको विभिन्न जिल्लामा अगुवा कार्यकर्ताहरुसंग रायसल्लाह सुझावसहितका कार्यक्रमबाट पार्टी, संगठन र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजय हुनुको कारणसहितको विचार संकलन अभियानको क्रममा जसपा नेपालका शीषनेतृत्वहरु खोजी कार्यमा जुटेका छन् । पार्टीलाई नयाँ मार्गनिर्देशनसहित अघि बढाउन विगतमा भएका कमीकमजोरीहरुलाई सच्याउँदै अघि बढनुको विकल्प नरहेको अगुवा नेता तथा कार्यकर्ताहरुले सुझाए ।

ताजा अपडेट

खोजी गर्नुहोस