
रौतहट, १० असार। मोटरसाइकल चोरी गर्ने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ निवासी २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय राम नारायण यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर प्रसाद आचार्यले बताएका छन्।
उनीहरूलाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो। मंगलबार साँझ करिब ६ः३० बजे गरुडा नगरपालिका–४ धर्मपुर स्थित एक घर अगाडि पार्किङ गरी राखिएको बा।प्र।०२–०४१ प ३८४९ नम्बरको २२० सिसी पल्सर मोटरसाइकल चोरी भएको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी धर्मपुरबाट खटिएको टोलीले सम्भावित भाग्ने मार्गको निगरानी बढाएको थियो।
विशेषगरी धर्मपुर गाउँबाट बाहिरिने एकमात्र पुलमा कडा चेकजाँच सञ्चालन गर्दा साँझ ७ बजेतिर चोरी भएको मोटरसाइकलसहित दुवै युवकलाई पक्राउ गरिएको डीएसपी आचार्यले जानकारी दिए ।
पक्राउ परेका दुवै जनाविरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। हिजो बिहिवार जिल्ला अदालत रौतहटबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
