
जनकपुरधाम, १४ असार। प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।
आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक बर्षबाट हुने धारणा राख्नुभयो । उहाले सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पार्नुभयो ।
सरकारले अर्थतन्त्र सुधारका लागि महत्वकांक्षी बजेट ल्याएकाले आगामी बर्षदेखि त्यसको सकारात्मक असर देखिने उहाको भनाइ छ । अर्थमन्त्री वाग्लेले भ्याटको बहुदरका बिषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने र त्यसको सिफारिसका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
उहाले बजेट खर्च मुलुककै आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने भन्दै केहि कारणले राजस्व संकलनमा समस्या भए आपतकालिन व्यवस्था हुनसक्ने तर्क गर्नुभयो ।
उहाले राइड सेयरिङको कारोवार अरवौंमा रहेकाले उनीहरुलाई पनि करको दायरामा ल्याउने गरि सरकारले आवश्यक नीति बनाउन खोजिएको जानकारी दिनुभयो । आर्थिक विधेयकमाथि आएका केहि सशोधन फिर्ता भएका छन् भने अन्य संशोधन प्रस्ताव अस्वीकृत भएको छ । त्यस्तै केहि संशोधन प्रस्तावलाई स्वीकार गरिएको छ ।
