रानीघाटमा नाला बिना सडक ढलानको प्रयास, स्थानीयको कडा विरोध

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १५, सोमबार (७ घण्टा अघि)
  • ५१ पटक पढिएको
रानीघाटमा नाला बिना सडक ढलानको प्रयास, स्थानीयको कडा विरोध

वीरगञ्ज, १५ असार। वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित कृषि औजार कारखानाअगाडिको मुख्य सडकमा नाला निर्माण नगरी सडक ढलान गर्न लागिएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्। मधेश प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालयले सडक निर्माणको काम अघि बढाएपछि स्थानीयहरू निर्माणस्थलमै पुगेर आपत्ति जनाएका हुन्।

स्थानीयका अनुसार वर्षौंदेखि सामान्य वर्षा हुँदा पनि सडकमा पानी जम्ने समस्या रहेको छ। यस्तो अवस्थामा ढल निकासको व्यवस्था नगरी सडक मात्र ढलान गरिए समस्या झन् जटिल बन्ने भन्दै उनीहरूले निर्माण कार्य तत्काल रोक्न माग गरेका छन्। उनीहरूको भनाइमा सडक निर्माणअघि प्रभावकारी नाला निर्माण गर्नु आवश्यक छ।

विरोध जनाउँदै स्थानीयले भौतिक पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनीले आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने उद्देश्यले मापदण्डविपरीत हतारमा काम गर्न खोजेको आरोप लगाएका छन्।

भौतिक पूर्वाधार विकास कार्यालयले ४३ लाख २० हजार रुपैयाँको लागतमा वीरगञ्जस्थित मिश्र निर्माण सेवालाई सडक निर्माणको जिम्मा दिएको छ। ठेक्का सम्झौतामा सडकसँगै नाला निर्माण गर्ने व्यवस्था भए पनि निर्माणस्थलमा नालाको काम नगरी सडक ढलानको तयारी गरिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका हुन्। यस विषयमा उनीहरूले वडा अध्यक्ष अजय चौरासियासँग पनि स्पष्टीकरण माग गरेका छन्।

स्थानीयका अनुसार यसअघि कालोपत्रे गरिएको सडकको पुरानो सतह नउखाली त्यसैमाथि ढलान गर्ने तयारी भइरहेको छ। उनीहरूले कार्यालयका प्राविधिक र निर्माण कम्पनीबीचको मिलेमतोमा गुणस्तरहीन निर्माण गर्न खोजिएको आरोप लगाएका छन्। प्राविधिक मापदण्डअनुसार पुरानो कालोपत्रे हटाउने, सतह सम्याउने, गिट्टी तथा बालुवा बिछ्याउने र फलामे डन्डी राखेपछि मात्र ढलान गर्नुपर्ने उनीहरूको भनाइ छ।

भौतिक पूर्वाधार विकास कार्यालयका प्राविधिक युवराज पटेलले भने ठेक्का सम्झौताअनुसार गुणस्तरीय निर्माण गर्नु निर्माण कम्पनीको दायित्व भएको बताए। उनले वडा अध्यक्षको समन्वयमा निर्माण कार्य अघि बढाइएको जानकारी दिँदै सम्झौताअनुसार काम भए–नभएको कार्यालयले नियमित अनुगमन गर्ने बताए।

स्थानीयले भने नाला निर्माणसहित प्राविधिक मापदण्डअनुसार काम नभएसम्म सडक निर्माण कार्य अघि बढ्न नदिने चेतावनी दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस