
वीरगञ्ज, १६ असार। बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा परी पर्सा जिल्लाका एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–२९ बस्ने अन्दाजी १७ वर्षीय लक्की सर्राफ रहेका छन् ।
डुमरवाना–सिमरा भित्री सडकखण्डमा सोमबार बेलुका स्कुटर, मोटरसाइकल र ट्र्याक्टर एकआपसमा ठोक्किँदा स्कुटर चालक सर्राफ गम्भीर घाइते भएका थिए । दुर्घटना लगत्तै उनलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा चिकित्सकले साँझ नै मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार डुमरवानाबाट सिमरातर्फ आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटर सराफले चलाइरहेका थिए । सोही दिशामा अगाडि गुडिरहेको प्र.२-०३-००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३-०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग स्कुटर ठोक्किएको थियो । मोटरसाइकलसँगको ठक्करपछि स्कुटर अनियन्त्रित भई सराफ गुडिरहेको ट्र्याक्टरको मुनि पर्दा सर्राफलाई गम्भीर चोट लागेको थियो ।
दुर्घटनामा स्कुटरको पछाडि सवार १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भएका छन् । उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, मोटरसाइकल चालक बारा जितपुरसिमरा–२३ बस्ने २९ वर्षीय रइफुल आलम अन्सारी घाइते भएका छन् । उनलाई थप उपचारका लागि वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा रिफर गरिएको छ ।
इलाका प्रहरी कार्यालय सिमराले दुर्घटनामा संलग्न ट्र्याक्टर चालक जितपुरसिमरा–४ औराहा बस्ने ७० वर्षीय शिवराज चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
