
वीरगञ्ज, १८ असार। मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च नेपालले मधेस प्रदेश समिति गठन गरेको छ । मञ्चका पर्सा जिल्ला अध्यक्ष राजु बैठाको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष दामोदर लाल ढकालको प्रमुख आतिथ्यमा प्रदेश समिति औपचारिक रूपमा गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै केन्द्रीय वरिष्ठ उपाध्यक्ष ढकालले मानव अधिकारको संरक्षण र कैदी–बन्दीका न्यायिक अधिकार सुनिश्चित गर्न प्रदेश समितिले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले सङ्गठनलाई प्रदेश स्तरमा थप क्रियाशील बनाउँदै कानुनी सहायता तथा सामाजिक न्यायका सवालमा ठोस पहल गर्न आग्रह गरे ।
नवगठित समितिको संयोजकमा सुभाष शाही मनोनीत भएका छन् । संयोजक शाहीले आफूलाई दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै मधेस प्रदेशभर सङ्गठनको गतिविधि विस्तार गर्ने प्रतिबद्धता जनाए ।
“मानव अधिकारको प्रवर्द्धन, कैदी–बन्दीका हकहितको संरक्षण र सबै नागरिकलाई न्यायमा पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख प्राथमिकता हुनेछ,” उनले भने, “प्रदेशका सबै जिल्लासँग समन्वय गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्नेछौँ ।”
कार्यक्रमका सभापति तथा पर्सा जिल्ला अध्यक्ष राजु बैठाले सङ्गठनले स्थापनाकालदेखि नै मानव अधिकार र न्यायिक सरोकारका क्षेत्रमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै प्रदेश समिति गठनले अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । “अब प्रदेश संरचनामार्फत हाम्रो गतिविधि अझ व्यवस्थित र परिणाममुखी हुनेछ,” उनले भने ।
कार्यक्रममा मञ्चका जिल्ला उपाध्यक्ष रमेश प्रसाद सर्राफ, बारा जिल्ला अध्यक्ष रुपा पाण्डे, पर्साका वरिष्ठ उपाध्यक्ष रिजवान अली, जिल्ला सहसचिव उषा थापा मगर, बारा जिल्ला सदस्य नन्दकला थापा, पर्सा जिल्ला सदस्य सजीव पाठक, इम्तियाज अली, राधेश्याम साह सोनार तथा जिल्ला महासचिव धुरूप प्रसाद कमकरलगायतको उपस्थिति रहेको थियो ।
नवगठित मधेस प्रदेश समितिले प्रदेशभर सङ्गठनको सञ्जाल विस्तार गर्दै मानव अधिकार तथा न्यायिक सरोकारका क्षेत्रमा प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता जनाएको छ ।
