
जनकपुरधाम, १८ असार। सर्लाहीको बसबरिया गाउँपालिका–१ मानपुरमा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका युवकले आफ्नै परिवारका सदस्यलाई फसाउने उद्देश्यले हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार पत्रकार सम्मेलनमार्फत बसबरिया गाउँपालिका–१ मानपुर निवासी २५ वर्षीय सन्तोष कुमार रायलाई सार्वजनिक गरेको हो। गत असार ७ गते राति करिब १ बजे आफ्नै भैंसी गोठमा सुतिरहेका सोही स्थानका ५३ वर्षीय होस नारायण राय यादवमाथि धारिलो हतियार (हँसिया) प्रहार गरी हत्या गरिएको थियो।
प्रहरीले घटनास्थल नजिकै रहेको एक किराना पसलमा जडान गरिएको सिसिटिभी क्यामराको फुटेज परीक्षण गरेको थियो। फुटेजका आधारमा सन्तोष कुमार रायमाथि शंका केन्द्रित भएपछि उनको खोजी सुरु गरिएको थियो ।
पक्राउ परेका रायले हत्या गरेपछि चोरी गरिएको सोही मोटरसाइकल प्रयोग गरी घटनास्थलबाट भागेको र पछि नवलपुरमा मोटरसाइकल छाडेको स्वीकार गरेका छन् ।
घटनाको एक दिनअघि रायले मोबाइल फोन किन्न बुबासँग पैसा माग्दा नपाएपछि परिवारमा विवाद भएको थियो। परिवारका सदस्यहरूले बेला–बेलामा सुधार केन्द्रमा पठाइदिने धम्की दिने गरेकाले उनी उनीहरूप्रति रिसाएका थिए।
सोही रिसका कारण परिवारका सदस्यलाई फसाउने उद्देश्यले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।रायविरुद्ध कर्तव्य ज्यान तथा चोरी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
