वीरगञ्जमा आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार गर्ने भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १८, बिहिबार (१२ घण्टा अघि)
  • ३२ पटक पढिएको
वीरगञ्जमा आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार गर्ने भारतीय नागरिक पक्राउ

वीरगञ्ज, १८ असार। पर्सा प्रहरीले आँप बिक्री गर्ने बहानामा लागूऔषध ब्राउन सुगर कारोबार गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार साँझ करिब ६ बजे वीरगञ्ज महानगरपालिका–९ स्थित भुतबंगला नजिक सडकको पश्चिम पेटीमा साइकलमा आँप बिक्री गरिरहेका व्यक्तिले लागूऔषधसमेत बेचिरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले निगरानी गरी उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित बेतिया जिल्लाको गोपालपुर थाना ग्राम पञ्चायत घोघा वडा नम्बर २ घर भएका ३० वर्षीय गुड्डु आलम रहेका छन् । उनी हाल वीरगञ्ज महानगरपालिका–८ मा डेरा गरी बस्दै आएका थिए । उक्त जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले दिएका हुन् ।

प्रहरीले कानुनबमोजिम खानतलासी गर्दा आलमको साइकलको पछाडिको चक्कानजिक झुन्ड्याइएको प्लास्टिकको बोराभित्र कालो प्लास्टिकले बेरेर सेतो प्लास्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला पारेको जनाएको छ ।

बरामद गरिएको लागूऔषधको कुल तौल प्लास्टिकसहित ३० ग्राम ७१० मिलिग्राम रहेको छ । त्यसमध्ये कालो प्लास्टिकबाहेक सेतो प्लास्टिकमा टाँसिएको ब्राउन सुगरको तौल २७ ग्राम २९० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आलमलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस