६ महिनापछि अघि बढ्यो वीरगञ्जमा विपद् राहत वितरण, १५ परिवार लाभान्वित हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १९, शुक्रबार (११ घण्टा अघि)
  • ४८ पटक पढिएको
६ महिनापछि अघि बढ्यो वीरगञ्जमा विपद् राहत वितरण, १५ परिवार लाभान्वित हुने

वीरगञ्ज, १९ असार। वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले विगत ६ महिनादेखि रोकिएको विपद् राहत वितरण प्रक्रियालाई अघि बढाउन पहल गर्नुभएको छ। महानगरपालिकाका विभिन्न वडामा आगलागी, बाढी तथा हावाहुरीबाट प्रभावित १५ परिवारले राहत रकम प्राप्त गर्ने भएका छन्।

कार्यवाहक नगरप्रमुख आलमले विपद् व्यवस्थापन शाखामा प्राप्त निवेदनहरूमाथि चासो दिँदै आवश्यक छानबिन गर्न निर्देशन दिएपछि वडा नं. १४, १७, १९ र २६ लगायतका क्षेत्रमा प्राकृतिक विपद्बाट प्रभावित वास्तविक पीडितहरूको पहिचान गरिएको हो।

क्षतिको अवस्था तथा निवेदनका आधारमा प्रतिपरिवार पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

विपद् व्यवस्थापन शाखा प्रमुख विभा मिश्रका अनुसार कार्यवाहक नगरप्रमुख आलमको समन्वय र सक्रियताका कारण लामो समयदेखि रोकिएको प्रशासनिक प्रक्रिया टुंगोमा पुगेको हो। उहाँले राहत रकम केही दिनभित्र सम्बन्धित पीडित परिवारको हातमा पुग्ने जानकारी दिनुभयो।

कार्यवाहक नगरप्रमुख आलमले विपद्को समयमा नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउनु महानगरपालिकाको दायित्व भएको उल्लेख गर्दै विपद् प्रभावित नागरिकलाई छिटो, प्रभावकारी र पारदर्शी ढंगले राहत तथा सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले विपद्का कारण समस्यामा परेका नागरिकलाई राहत वितरणमा कुनै ढिलाइ हुन नदिने र भविष्यमा यस्ता प्रक्रियालाई अझ व्यवस्थित तथा प्रभावकारी बनाइने बताउनुभयो।

ताजा अपडेट

खोजी गर्नुहोस