
धनुषा, १९ असार। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ स्थित खतबैया टोलमा विवाह समारोहका क्रममा भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
बिहेको रथको ब्रेक अचानक फेल भएपछि नाचिरहेका स्थानीयमाथि रथ चढ्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । धनुषा प्रहरीले दिएको जानकारीअनुसार स्थानीय केश्वर मुखियाकी छोरीको विवाहका अवसरमा गएराति मटकोर विधि सञ्चालन भइरहेको थियो। सोही क्रममा द्यच् ३२ ग् ७४६८ नम्बरको बिहेको रथको ब्रेक अचानक फेल भएपछि रथ अनियन्त्रित भई नाचिरहेका मानिसको समूहमा पसेको थियो ।
दुर्घटनामा स्थानीय संजय मुखियाकी १३ वर्षीया छोरी सरस्वती मुखिया र बिकाउ मुखियाकी ३५ वर्षीया श्रीमती कवितादेवी मुखिया रथले किचिएका थिए। घटनापछि दुवै घाइतेलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । उपचारकै क्रममा १३ वर्षीया सरस्वती मुखियाको मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।
घाइते कवितादेवी मुखियाको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकोले थप उपचारका लागि न्युरो अस्पताल जनकपुरधाम रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले बिहेको रथ नियन्त्रणमा लिएको छ । घटनालगत्तै चालक फरार भएको र उनको खोजीका साथै दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
