
जनकपुरधाम, २१ असार। मधेश प्रदेश सरकारले लामो समयदेखि रोकिएको प्रदेशसभा सदस्यहरूका स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरूको तलब तथा सेवा सुविधा एकमुष्ट रूपमा वितरण गर्ने निर्णय गरेको छ ।
गत कार्तिक महिनादेखि विभिन्न प्रशासनिक तथा नीतिगत कारणले रोकिएको तलब अब मन्त्रिपरिषद्को निर्णयपछि वितरण गरिने भएको छ । यस निर्णयले लामो समयदेखि पारिश्रमिक नपाएका स्वकीय सचिवहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ । मधेश प्रदेश सरकारका अनुसार गएको जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले हाल कार्यरत पदाधिकारी तथा कर्मचारीहरूको पारिश्रमिक र सेवा सुविधा प्रचलित कानुनअनुसार उपलब्ध गराउने निर्णय गरेको छ ।
यसका साथै, मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा पदाधिकारी र सदस्यहरूको निजी वा स्वकीय सचिवालयको संगठनात्मक संरचना, कर्मचारी संख्या तथा सेवा–सुविधाको पुनरावलोकन गर्न अध्ययन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । निर्णयअनुसार चालु आर्थिक वर्षका लागि मुख्यमन्त्री तथा मन्त्रीहरूको निजी सचिवालयका कर्मचारीहरूले ‘मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५’ को दफा ११ बमोजिम सेवा–सुविधा प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रदेशसभा पदाधिकारी तथा सदस्यहरूको निजी वा स्वकीय सचिवालयका कर्मचारीहरूको सुविधा ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५’ को दफा ८ अनुसार उपलब्ध गराइनेछ । यसले लामो समयदेखि रोकिएको तलब वितरणका लागि कानुनी आधार स्पष्ट भएको सरकारको भनाइ छ ।
प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आवश्यक पत्राचार भइसकेको छ । सचिवालयले अहिले बाँकी तलबको हिसाब–किताब गर्ने काम गरिरहेको जनाएको छ । प्रदेशसभा सचिवका अनुसार असार २५ गतेभित्र सबै स्वकीय सचिवहरूको तलब वितरण गरिसक्ने तयारी गरिएको छ ।
हाल ९१ जना प्रदेशसभा सदस्य, संसदीय दलका नेता तथा प्रमुख सचेतकहरूको सचिवालयमा कार्यरत कर्मचारीहरूको तलब बाँकी रहेको बताइएको छ । मधेश प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा पदाधिकारी र सदस्यहरूको निजी सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिक, सेवा सुविधा र संगठन संरचनाको पुनरावलोकन गर्ने निर्णय गरेको थियो । यता प्रदेश सभाका सचिवले मुख्यमन्त्री कार्यालयबाट पत्राचार भइसकेको छ, हिसाब गर्दैछु असार मसान्तसम्म सबै स्वकीय सचिवहरूको तलब वितरण गरिसक्ने जनाएको छ ।
स्वकीय सचिवहरूको तलब लामो समयदेखि रोकिनुको मुख्य कारण संघीय सरकारबाट जारी भएको परिपत्र थियो । संघीय अर्थ मन्त्रालयले गत असोज ७ गते मन्त्रीबाहेक सांसद तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गर्दै सबै प्रदेश सरकारलाई परिपत्र पठाएको थियो । त्यसपछि मधेश प्रदेशमा पनि स्वकीय सचिवहरूको तलब तथा अन्य सुविधा वितरण रोकिएको थियो ।
यस निर्णयले स्वकीय सचिवहरू आर्थिक रूपमा प्रभावित भएका थिए भने प्रदेश सरकारमाथि पनि तलब उपलब्ध गराउन विभिन्न पक्षबाट दबाब बढ्दै गएको थियो । यसैबीच, प्रदेश सरकारले हालको व्यवस्थालाई कानुनअनुसार कार्यान्वयन गर्दै भविष्यका लागि दीर्घकालीन समाधान खोज्ने उद्देश्यले अध्ययन समिति गठन गरेको छ ।
समितिले मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा पदाधिकारी तथा सदस्यहरूको निजी सचिवालयको आवश्यकता, कर्मचारी संख्या, सेवा–सुविधा र संगठनात्मक संरचनाको अध्ययन गरी आवश्यक संशोधनका लागि सुझाव दिनेछ । समितिको प्रतिवेदनका आधारमा आगामी दिनमा स्वकीय सचिवालयको संरचना र सुविधा व्यवस्थामा परिवर्तन हुन सक्ने अनुमान गरिएको छ ।
सरकारको पछिल्लो निर्णयलाई प्रदेशसभा सदस्य, स्वकीय सचिव तथा कर्मचारीहरूले सकारात्मक रूपमा लिएका छन् । लामो समयदेखि रोकिएको तलब एकमुष्ट रूपमा वितरण हुने भएपछि आर्थिक समस्यामा परेका कर्मचारीहरूलाई राहत पुग्ने विश्वास गरिएको छ । यसका साथै, अध्ययन समितिको प्रतिवेदनपछि स्वकीय सचिवालयको व्यवस्थापनलाई अझ स्पष्ट, व्यवस्थित र कानुनसम्मत बनाउने अपेक्षा गरिएको छ ।
यस निर्णयले तत्कालका लागि रोकिएको पारिश्रमिक वितरणको समस्या समाधान हुने छ भने भविष्यमा यस्ता विवाद दोहोरिन नदिने गरी स्पष्ट नीतिगत व्यवस्था गर्न पनि मार्ग प्रशस्त गरेको सरकारको दाबी छ । सुशीला कार्की नेतृत्वको संघीय सरकारका अर्थ मन्त्रालयले गत असोज ७ गते नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्नेÚ परिपत्र जारी गरेको थियो ।
