ट्रामाडोल बरामद प्रकरणमा ट्रान्सपोर्ट कम्पनीको नाम गोप्य राखिएको आरोप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २१, आईतबार (७ घण्टा अघि)
  • ५६ पटक पढिएको
ट्रामाडोल बरामद प्रकरणमा ट्रान्सपोर्ट कम्पनीको नाम गोप्य राखिएको आरोप

वीरगञ्ज, २१ असार। पर्सामा ठूलो परिमाणमा ट्रामाडोल बरामद भएको घटनामा सामान ढुवानी गर्ने ट्रान्सपोर्ट कम्पनीमाथि प्रभावकारी अनुसन्धान नगरी जोगाउने प्रयास गरिएको आरोप सार्वजनिक भएको छ। घटनामा प्रहरीले ट्रान्सपोर्ट कम्पनीको नाम सार्वजनिक नगरेपछि अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको हो।

जानकारीअनुसार असार ८ गते साँझ गण्डक प्रहरीले राजस्व छलीको आशंकामा वीरगञ्जस्थित एक ट्रान्सपोर्ट कम्पनीबाट छुटेको बा.प्र.०३–००१ ख ३३४६ नम्बरको ट्रक नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको थियो। प्रारम्भिक रूपमा ट्रकमा कस्मेटिक सामग्री, ब्याट्री तथा औषधिजन्य सामग्री रहेको जानकारी दिइए पनि जाँचका क्रममा एक लाख २० हजार थान ट्रामाडोल ट्याब्लेट बरामद भएपछि घटनालाई लागूऔषध मुद्दाका रूपमा अनुसन्धान अघि बढाइएको थियो।

घटनापछि पक्राउ परेका चालक मकवानपुरको थाहा नगरपालिका–७ निवासी सुशील घलेको बयानका आधारमा तत्कालीन प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले प्रारम्भिक रूपमा उक्त ट्रक प्रशान्त क्यारियरमार्फत ढुवानी भइरहेको बताएका थिए। तर स्रोतका अनुसार ट्रक वास्तवमा आदर्शनगरस्थित (पी.आर.सी.लोजिस्टिक ट्रान्सपोर्ट) राजेन्द्र गुप्ताको ट्रान्सपोर्ट मार्फत ढुवानी भइरहेको दाबी गरिएको छ।

तर जिल्ला प्रहरी कार्यालय पर्साले पछि जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिमा कुनै पनि ट्रान्सपोर्ट कम्पनीको नाम उल्लेख नगरेपछि सामान ढुवानी गर्ने कम्पनीलाई जोगाउने प्रयास गरिएको आरोप लागेको छ। यति ठूलो परिमाणमा लागूऔषध बरामद हुँदा पनि सामान पठाउने र प्राप्त गर्ने व्यक्ति वा संस्थाको पहिचान सार्वजनिक नगरिएको भन्दै प्रहरीको आलोचना भइरहेको छ।

व्यवसायीहरूका अनुसार ट्रान्सपोर्ट कम्पनीले सामान ढुवानी गर्दा चालकलाई सामानको विवरण, गन्तव्य र प्राप्तकर्तासम्बन्धी आवश्यक कागजात उपलब्ध गराउने प्रचलन रहे पनि बरामद भएका कागजातमा उल्लेखित व्यक्ति वा संस्थामाथि प्रभावकारी अनुसन्धान नभएको आरोप छ।

यस घटनामा ट्रक नियन्त्रणमा लिइएको राति नै सम्बन्धित व्यवसायी र प्रहरीबीच छलफल भएको दाबीसमेत गरिएको छ। सोही कारण प्रेस विज्ञप्तिमा कम्पनी वा सम्बन्धित व्यक्तिको नाम उल्लेख नगरिएको आरोप पनि सार्वजनिक भएको छ।

यस विषयमा तत्कालीन डीएसपी हरिबहादुर बस्नेतले अनुसन्धान जारी रहेकाले सामान कसको हो र अन्तिम गन्तव्य कहाँ थियो भन्ने यकिन नभएकाले प्रेस विज्ञप्तिमा कुनै नाम उल्लेख नगरिएको बताएका थिए। हालसम्म भने जिल्ला प्रहरी कार्यालय पर्साबाट यस विषयमा आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस