रौतहटमा एक राउण्ड गोली र कटुवा पेस्तोलसहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २३, मंगलबार (११ घण्टा अघि)
  • ७४ पटक पढिएको
रौतहटमा एक राउण्ड गोली र कटुवा पेस्तोलसहित एक जना पक्राउ

रौतहट, २३ असार। रौतहटको गरुडा नगरपालिकाबाट प्रहरीले एक राउण्ड गोली लोड गरिएको कटुवा पेस्तोल र थप विष्फोटक पदार्थ तथा नगद रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर ९ बिर्ता निवासी अन्दाजी ४२ वर्षीय सदरे आलम रहेका छन्। असार २२ गते गरुडा नगरपालिका वडा नम्बर ५ स्थित झाझपुलमा रहेको गौतम सहनीको मदिरा पसलमा शङ्कास्पद अवस्थामा फेला परेका आलमको शरीर खानतलासी गर्दा उनको कम्मरमा भिरेको अवस्थामा उक्त लोड गरिएको कटुवा पेस्तोल बरामद भएको थियो।

पक्राउ परेका आलमसँग असार २३ गते गरिएको थप सोधपुछ तथा अनुसन्धानका क्रममा उनले सोही मदिरा पसल पछाडिको खेतमा रहेको झ्याङभित्र अन्य हातहतियार र रकम लुकाएको खुलासा गरेका थिए।

प्रहरीले उनकै बयानाका आधारमा उक्त स्थानमा खानतलासी गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने थप ४ थान लाइभ राउण्ड गोली, १ थान ब्ल्याङ्क राउण्ड, कालो पर्सभित्र लुकाइराखेको २४ हजार ५ सय भारतीय रुपैयाँ, ३२ हजार ५ सय नेपाली रुपैयाँ र २ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ। प्रतिवादी आलमलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा प्रहरीले थप विस्तृत अनुसन्धान अगाडि बढाएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस