कार्यालयमै कर्मचारीमाथि कुटपिटपछि कालिकामाई गाउँपालिकामा पेनडाउन आन्दोलन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २४, बुधबार (२ महिना अघि)
  • १३४ पटक पढिएको
कार्यालयमै कर्मचारीमाथि कुटपिटपछि कालिकामाई गाउँपालिकामा पेनडाउन आन्दोलन

वीरगञ्ज, २४ असार। पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कामकाज ठप्प पारेका छन् । दोषीमाथि कडा कारबाहीको माग गर्दै कर्मचारीहरूले पेन डाउन आन्दोलन सुरु गरेका हुन् ।

गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि मङ्गलवार दिउँसो करिब १२:५१ बजे गाउँ कार्यपालिकाको कार्यालय परिसरभित्रै कुटपिट तथा दुर्व्यवहार भएको आरोप छ । घटनाको विरोधमा कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापन पत्र बुझाउँदै दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

कर्मचारीहरूले कार्यालय समयमै आफ्नै जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको दाबी गर्दै यसलाई सम्पूर्ण कर्मचारी समुदायमाथिको आक्रमणको रूपमा लिएका छन् । यस्तो घटनाले कर्मचारीहरूको मनोबल कमजोर पार्नुका साथै प्रशासनिक कामकाज र सुशासनमा नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ ।

संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा घटनाको पृष्ठभूमि स्वास्थ्य शाखाबाट सञ्चालन हुने बहु क्षेत्रीय पोषण कार्यक्रमसँग सम्बन्धित विषय रहेको उल्लेख गरिएको छ । उक्त विषयमा कम्प्युटर अपरेटर चौरसियाको व्यक्तिगत कुनै संलग्नता वा दोष नरहेको अवस्थामा उनीमाथि आक्रमण हुनु अत्यन्त दुर्भाग्यपूर्ण र निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ ।

कर्मचारीहरूले घटनामा संलग्न रहेको आरोप लगाउँदै कालिकामाई गाउँपालिका–२ का राजनिश कुशवाहा, वडा नं. ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलसहित अन्य व्यक्तिहरूमाथि सङ्घीय कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन् । सरकारी कार्यालयमा कार्यरत कर्मचारीको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

माग सम्बोधन नभएसम्म गाउँपालिकाका सम्पूर्ण कर्मचारीले कार्यालयमा काम नगरी जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने तथा पेन डाउन आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

कर्मचारीहरूको आन्दोलनका कारण बुधवार गाउँपालिकाको सम्पूर्ण प्रशासनिक कामकाज ठप्प भएको छ भने गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयसमेत बन्द भएका छन् ।

यसैबिच, इलाका प्रहरी कार्यालय पोखरियाले घटनामा संलग्न रहेको आरोपमा कालिकामाई गाउँपालिका–२ निवासी रामबालक साह कानु र अरविन्द चौरसियालाई नियन्त्रणमा लिएको जनाएको छ । अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस