मल संकटबीच भारतबाट मल ल्याउँदा दुई नेपाली पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २५, बिहिबार (८ घण्टा अघि)
  • ५२ पटक पढिएको
मल संकटबीच भारतबाट मल ल्याउँदा दुई नेपाली पक्राउ

वीरगञ्ज, २५ असार। संघीय सरकारले चालु खेतीपातीको मौसममा रासायनिक मलको अभाव नहुने दाबी गरिरहे पनि मधेश प्रदेशका किसानले पर्याप्त मल नपाएको गुनासो गरिरहेका छन्। यसैबीच भारतबाट आफ्नै कृषि प्रयोजनका लागि रासायनिक मल ल्याउने क्रममा सर्लाहीका दुई नेपाली नागरिक भारतीय सुरक्षाकर्मीबाट पक्राउ परेपछि मल आपूर्ति व्यवस्थाप्रति पुनः प्रश्न उठेको छ।

भारतको बिहार राज्यस्थित सीमावर्ती बजार सोनवर्षाबाट रासायनिक मल खरिद गरी नेपाल फर्किरहेका सर्लाहीको बलरा नगरपालिका–५ निवासी नागेन्द्रप्रसाद सिंह र सुरेशप्रसाद सिंहलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले नियन्त्रणमा लिएको हो। उनीहरू करिब छ दिनअघि आठ बोरा रासायनिक मल नेपालतर्फ ल्याउँदै गरेका बेला पक्राउ परेका थिए।

सोनवर्षा थानाका प्रमुख इन्स्पेक्टर धर्मेन्द्र कुमारका अनुसार प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई आवश्यक कानुनी प्रक्रियाका लागि स्थानीय प्रहरीको जिम्मा लगाइएको छ। भारतको प्रचलित कानुनअनुसार आवश्यक अनुमति र प्रक्रिया पूरा नगरी सीमापार रासायनिक मल लैजान खोजिएकाले कानुनी कारबाही अघि बढाइएको उनले बताए।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई स्थानीय अदालतमा उपस्थित गराइएको छ भने मुद्दाको सुनुवाइ प्रक्रिया जारी छ। सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद अधिकारीले पनि घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गर्दै भारतीय अदालतमा कानुनी प्रक्रिया चलिरहेको र हालसम्मको जानकारीअनुसार दुवै जना धरौटीमा रिहा हुने सम्भावना रहेको बताए।

घटनापछि स्थानीय जनप्रतिनिधिहरूले पक्राउ परेका व्यक्तिलाई व्यावसायिक तस्करका रूपमा चित्रण गर्न नहुने धारणा राखेका छन्।

बलरा नगरपालिका–५ का वडाध्यक्ष मनोजमोहन कुमार सिंहका अनुसार दुवै जनाले आफ्नै खेतबारीमा प्रयोग गर्नका लागि रासायनिक मल खरिद गरेका थिए। सरकारले समयमा र पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा सीमावर्ती क्षेत्रका किसान भारतीय बजारमा निर्भर हुन बाध्य भएको उनले बताए।

उनका अनुसार मधेश प्रदेशमा अहिले रासायनिक मल र पर्याप्त वर्षा दुवैको अभाव छ। धान रोपाइँको मुख्य समयमा किसानले आवश्यक मल नपाउँदा कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको भन्दै उनले गत वर्षजस्तै खडेरीको अवस्था दोहोरिन सक्ने चेतावनी दिए।

नेपाल–भारत खुला सीमाका कारण सीमावर्ती क्षेत्रका नागरिक दैनिक उपभोगका वस्तु खरिदका लागि दुवै देश आवतजावत गर्ने गरे पनि रासायनिक मलजस्ता कृषि सामग्री सीमापार ल्याउँदा सम्बन्धित देशका भन्सार तथा आयात–निर्यातसम्बन्धी कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था छ।

कानुनी प्रक्रिया पूरा नगरी ठूलो परिमाणमा मल ओसारपसार गर्दा अवैध आयात वा तस्करीसम्बन्धी कानुनी कारबाहीको जोखिम रहने भएकाले यस्ता घटना बेला–बेलामा दोहोरिने गरेका छन्।

यस घटनाले नेपालमा वर्षेनी दोहोरिने रासायनिक मलको अभाव, सीमावर्ती किसानको बाध्यता तथा कृषि सामग्रीको सहज आपूर्तिमा देखिएको कमजोरीलाई पुनः उजागर गरेको छ।

स्थानीय किसान रामउद्गार महतोले प्रत्येक वर्ष सयौँ बिघा खेत मल र सिँचाइ अभावका कारण बाँझै रहने गरेको गुनासो गरे। उनले किसानहरू आकाशे पानीको भरमा खेती गर्न र कालोबजारबाट महँगो मूल्यमा मल खरिद गर्न बाध्य रहेको उल्लेख गर्दै किसानको पीडा बुझेर सरकारले समयमै पर्याप्त मल उपलब्ध गराउनुपर्ने माग गरे।

किसानहरूले समयमा र पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराउन नसकिए खेतीपातीमा गम्भीर असर पर्ने भन्दै सरकारले मल आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

 

ताजा अपडेट

खोजी गर्नुहोस