
वीरगञ्ज, २९ असार। जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट बिना कारण र कानुनी प्रक्रिया पूरा नगरी पक्राउ गरिएको दाबी गर्दै सरकारसँग स्पष्टीकरण माग गरेका छन् ।
पक्राउका क्रममा घाइते भएका अन्सारी हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत छन् ।शनिबार साँझ प्रहरीले अन्सारीसहित जेनजी आन्दोलनमा संलग्न अन्य केही युवालाई नियन्त्रणमा लिएको थियो ।
अन्सारीका अनुसार पक्राउ गर्ने क्रममा प्रहरीले लछारपछार गर्दा उनी घाइते भएका हुन्। उपचारका क्रममा सोमबार सामाजिक सञ्जालमा सार्वजनिक गरेको आफ्नो भनाइमा अन्सारीले आफूलाई पक्राउ गर्नुको कारण अहिलेसम्म नबताइएको र कुनै पक्राउ पुर्जीसमेत नदेखाइएको आरोप लगाएका छन् ।
उनले भने, ‘मलाई अहिलेसम्म मेरो पक्राउको कारणबारे कुनै जानकारी दिइएको छैन, न त कुनै पक्राउ पुर्जी नै देखाइएको छ। मेरो पक्राउको कानुनी हैसियतबारे पनि कुनै स्पष्टता छैन। गृहमन्त्री वा प्रहरी प्रमुखले यी सबै गैरकानुनी कारबाही किन यति लक्षित रूपमा मविरुद्ध गरियो भन्ने स्पष्ट पार्न सक्नुहुन्छ ?’
अन्सारीले आफ्नो सुरक्षाप्रति गम्भीर चासो व्यक्त गर्दै संघीय संसद्का सदस्य, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूसँग घटनाप्रति ध्यान दिन र आफ्नो सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।
