
रौतहट ,०१ साउन। सरकारले अब सरकारी निकायमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न नपाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गर्दै कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई परिपत्र जारी गरेको हो।
भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले शुक्रबार जारी गरेको परिपत्रमार्फत नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त नगर्न निर्देशन दिएको छ।
मन्त्रालयका शाखा अधिकृत सजिव नेपालको हस्ताक्षर रहेको परिपत्रअनुसार कर्मचारी अभाव भएका कार्यालयमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न पुलमा रहेका करारका कर्मचारीलाई नै सङ्घीय मामिला मन्त्रालयमार्फत माग गरी करार सम्झौताका आधारमा खटाउनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, विभिन्न मन्त्रालयअन्तर्गत एकीकरण वा खारेजीको प्रक्रियामा रहेका निकायहरूको हकमा प्रक्रिया पूरा नभएसम्म सम्पत्ति संरक्षण, सुरक्षा तथा दायित्व हस्तान्तरणका लागि आवश्यक न्यूनतम जनशक्ति हाल कार्यरत करारका कर्मचारीहरूमध्येबाटै व्यवस्थापन गर्ने निर्णय पनि सरकारले गरेको छ।
सरकारको यो निर्णयसँगै अब सरकारी निकायहरूले रिक्त पदमा नयाँ करार कर्मचारी भर्ना गर्न नपाउने भएका छन् भने आवश्यक जनशक्तिको व्यवस्थापन विद्यमान करार कर्मचारीको पुनःपरिचालनमार्फत गरिनेछ।
